मुल्यबृद्धिको बिरोधमा तरुण दल दोलखा आन्दोलित

Posted on: 26 Jun, 2018

ताराबहादुर महत । असार १२, दोलखा । पछिल्लो समय देशमा दैनिक उपभोग्य सामाग्री लगायत निमार्ण सामाग्रीमा मुल्य बृद्धि गरिएको विरोधमा मंगलबार नेपाल तरुण दल दोलखाले चरिकोटमा एक घण्टा चक्का जाम गरेको छ । 


नेपाल कम्युनिष्ट पार्टीको सरकार आएपछि विशेष गरी पेट्रोलियम पदार्थमा पटक पटक मुल्य बृद्धि भएकोप्रति आक्रोस व्यक्त गर्दै नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दल दोलखाले विहान ११ बजेदेखि १२ बजेसम्म चरिकोटस्थित सातदोबाटो चोकमा चक्का जाम गरेको हो । ‘कम्युनिष्ट पार्टीको सरकारले देशमा समृद्धि दिन्छु भन्दै उपहार स्वरुप मुल्य बृद्धि दिएको छ, मुल्य बृद्धि नघटेसम्म हाम्रो आन्दोलन जारी रहन्छ’, तरुण दल दोलखाका अध्यक्ष दावासाङ्गे शेर्पाले भन्नुभयो । त्यसैगरी पुननिमार्णको लागि आवश्यक रड, सिमेन्ट, बालुवा, गिट्टि लगायतमा कालो बजारी मौलाएको भन्दै साङ्केकित विरोध स्वरुप चक्का जामको आयोजना गरिएको तरुण दल दोलखाले जनाएको छ ।


मुल्य बृद्धि बिरुद्धको आन्दोलन गरीरहेको नेपाल तरुण दल दोलखाले निमार्ण सामाग्रीको ढुवानीमा प्रयोग हुने ट्रिपरको चर्को भाडादर नियन्त्रण गरी एकरुपता कायम गर्नुपर्ने, जिल्लामा भईरहेको नदी दोहन नियन्त्रण गर्न क्रसर उद्योगलाई व्यवस्थित गर्नुपर्ने र भुकम्प पिडितलाई परिचय पत्रका आधारमा बालुवा गिट्टिको मुल्यमा १० प्रतिशत छुट दिनुपर्ने लगायतका माग राखेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!