डोटीमा रगतका लागि सेना र प्रहरीकै भर

Posted on: 30 Jan, 2022

माघ १६, डोटी | जिल्लामा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ । 

रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका सर्वजित देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “कोही बिरामी परे सेना र प्रहरी खोज्नुपर्छ, स्थानीयले रगत दिनै मान्दैनन् ।” अस्पतालमा बिरामीले रगतको व्यवस्था आफै गर्नुपर्ने हुन्छ । 

नेपाली सेनाका विभिन्न युनिट, सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा नेपाल प्रहरीले बिरामीलाई सहजै रगत उपलब्ध गराउने गरेका कारण सहज भएको छ । “रगत आवश्यक परे सिधैँ प्रहरी र सेनालाई सम्पर्क गर्छौँ”, शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले भन्नुभयो । 

जिल्लामा रेडक्रस सोसाइटीले रगत सङ्कलन केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याए पनि रगत अभाव भइरहन्छ । रगतका लागि सो केन्द्र भरपर्दो नभएको स्थानीयवासी बताउँछन् । रक्तदानका लागि रेडक्रसले जिल्लामा अभियान नै सञ्चालन गर्ने गरेको छ । सुत्केरीलाई सबैभन्दा बढी समस्या हुने गरेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सुत्केरीलाई बढी रगत आवश्यक पर्छ, रगत अभाव हुँदा उपचार गराउन अन्यत्र पठाउनुपर्ने अवस्था छ ।” सेना र प्रहरीले आफ्ना युनिटमा रगत सङ्कलन गरेर राख्ने गरेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!