डोटीमा पर्यटन प्रबर्धनका लागि जुट्दै युवा

Posted on: 21 Jul, 2019

साउन ५, डोटी  | जिल्लाको जोरायल गाउँपालिका–२ का युवाहरु पछिल्लो समय पर्यटन क्षेत्रको प्रवद्र्धनमा जुट्न थालेका छन् । स्थानीयस्तरमा धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिले महत्व राख्ने दर्जनौँ स्थलहरु भए पनि प्रचारप्रसारकोे अभावमा ओझेलमा परेको भन्दै युवाले उक्त अभियान थालेका हुन् ।

पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न युवाहरुले छतिवन पर्यटन प्रवद्र्धन समिति नामक संस्था पनि गठन गरेको छतिवन पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भरत कुँवरले बताउनुभयो । 

जोरायल गाउँपालिका–२ मा धार्मिक, पर्यटकीय र ऐतिहासिक दृष्टिले महत्व राख्ने छहरा झरना, भगत बाबा मन्दिर, छतिवनताल, रङ्गुनताल, बाइस खाम, धारापानी पिकनिक क्षेत्र, भगवतीडाँडालगायतका स्थलहरु रहेका छन् । छतिवनमा पर्यटन प्रवद्र्धन गर्नका लागि पर्यटन गुरुयोजना तयार भइसकेको र त्यसका लागि आवश्यक विस्तृत योजना निर्माण हुने क्रममा रहेको सो समितिले जनाएको छ । त्यसका लागि रुवसकाँडादेखि छहरा झरनासम्म जिपलाइन, भगतडाँडामा भ्यूटावर, छहरा झरनाको संरक्षण र प्रवद्र्धनका लागि यसै वर्ष विस्तृत योजना बन्ने अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

हालसम्म रुवसकाँडा देखि छहरा झरनासम्मको छ किमीमध्ये पाँच किमी सडक निर्माण भइसकेको र बाँकी सडक यसै आर्थिक वर्षमा निर्माण गरिने कार्यक्रम रहेको छ । समितिले पर्यटनलाई प्रवद्र्धन गर्नका लागि प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी गरे पनि सम्बन्धित निकायबाट अनुमति नपाउँदा सञ्चालन हुन नसकेको र यसका लागि आवश्यक पहल भइरहेको समितिले जनाएको छ ।

युवाहरुको प्रयासलाई प्रोत्साहन गर्नका लागि जोरायल गाउँपालिका, प्रदेश सरकार तथा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट केही सहयोग उपलब्ध भएको छ । पर्यटन प्रवद्र्धन पनि विकासको महत्वपूर्ण क्षेत्र भएकाले छतिवनका युवाहरुले थालेको अभियानमा गाउँपालिकाले सक्दो सहयोग गर्ने जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रको विकासका लागि युवा समूहले गरिरहेका कामका आधारमा गाउँपालिकाले आवश्यक सहयोग र बजेट विनियोजन गर्नेछ ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!