गोरखामा पदपूर्ति नहुँदा स्वास्थ्यका कर्मचारीले धान्दै वडा सचिवको काम

Posted on: 16 Jun, 2022

असार २, गोरखा | धार्चे गाउँपालिका- ६ स्थित काशिगाउँ स्वास्थ्य चौकीमा मित्री माया गुरुङ काम गर्छिन् । गुरुङ अनमी हुन् । सधैँ उनी कार्यालय पुग्नेवित्तिकै सुरुमा हाजिर गर्छिन् । कोही बिरामी आएका छन् भने सेवा दिन्छिन् । आएका छैनन् भने नजिकै रहेको वडा कार्यालय पुगिहाल्छिन् । दिनहुँ वडा कार्यालय नपुगी उनलाई सुखै छैन । बिदाबाहेक अन्य दिन उनको वडा कार्यालय र स्वास्थ्य चौकी आउजाउ गर्दैमा दिन बित्छ । 

तर, वडा कार्यालय उनी कसैको उपचारका लागि जाने भने हैन । उनी त्यस वडाको निमित्त ‘वडा सचिव’ पनि हुन् । दरबन्दीअनुसारको कर्मचारी पदपुर्ती नहुँदा उनले वडा कार्यालयको वडा सचिव र अनमी दुबैको जिम्मेवारी समाल्नु परेको छ । 

‘स्वास्थ्य चौकीमा काम हुँदा यता आउँछु, वडा कार्यालयमा काम हुँदा उता जान्छु । दिनमा कति पटक यताउता आउजाउ गर्नुपर्छ गनिसाध्य छैन्’, उनले भनिन् । 

वडा कार्यालयमा कार्यालय सहायक चन्द्रबहादुर गुरुङले सेवाग्राहीहरूको आवश्यक सबै डकुमेन्ट हेर्ने र सबै प्रक्रिया पूरा गर्छन् । ‘कार्यालय सहायक हुनुहुन्छ, उहाँले आवश्यक सबै प्रक्रिया पूरा गर्नुहुन्छ, त्यसपछि मैले कागजातहरु हेरेर आधिकारिकता दिने, सिफारिस दिने लगायतका काम गर्छु’, उनले भनिन् । 

यही गाउँपालिकाको ४ नम्बर वडा कार्यालयमा पनि लाप्राक स्वास्थ्य चौकीको इन्चार्ज धनबहादुर गुरुङले वडा सचिवको अख्तियारी लिएर काम गरिरहेका छन् । 

‘पहिलेका सचिव सरुवा भएर गए, नयाँ आएका छैनन् । गाउँपालिकाले अख्तियारी दिएपछि मैले नै वडा सचिवको पनि काम गरिरहेको छु’, गुरुङले भने । उनी गत पुस २०७८देखि वडा सचिवको रुपमा काम गरिरहेका छन् । 

स्वास्थ्य चौकी ईन्चार्ज भएर पनि वडा सचिवको पनि जिम्मेवारी निभाइरहेकामध्ये अर्का हुन्- सपनाकुमार घिमिरे । उनी धार्चे-५ गुम्दा स्वास्थ्य चौकी इन्चार्ज हुन् । तर, विगत वर्ष दिनयता उनले पनि वडा सचिव अख्तियारी लिएर काम गरिरहेका छन् । 

‘नितान्त स्वास्थ्यका कर्मचारी भएर प्रशासनिक क्षेत्रको काम गर्दा जटिलता त छँदै छ । त्यो खालको अनुभव र तालिम पनि छैन । तर, पनि अन्त सोधेर काम गर्नुपर्छ’, घिमिरेले भने । 

धार्चे गाउँपालिकामा ७ वटा वडा छ । तर, यहाँ दरबन्दीअनुसारका दुई वडामा मात्रै वडासचिव छन् । अन्य वडामा भने स्वास्थ्यकै स्थायी कर्मचारीलाई वडासचिवको अख्तियारी दिएर कार्यसम्पादन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुल बहादुर आलेले बताए । 

‘दरबन्दीअनुसारको पदपूर्ति नहुँदा कार्यसम्पादनमा जटिलता र समस्या त छँदै छ । तर, पनि सेवाग्राहीको काम नरोकियोस्, सेवाग्राहीले दु:ख नपाउन् भन्ने उद्देश्यले स्वास्थ्यकै कर्मचारीलाई अख्तियारी दिएर सेवा प्रदान गरिरहेका छौँ’, आलेले भने ।

गाउँपालिकाको तर्फबाट रिक्त कर्मचारीको पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोग र संघको लोकसेवा आयोगसँग माग गरेको अध्यक्ष लक्ष्मण गुरुङ बताउँछन् । 

‘रिक्त दरबन्दीमा पदपूर्ति गर्नका लागि गाउँपालिकाको तर्फबाट हामीले प्रदेश सरकार र संघ सरकारसँग पहल गरिरहेका छौँ । तर, पदपुर्ती नहुँदाको समयमा पनि सेवाग्राहीहरुले समस्या नै भोग्नुपर्ने अवस्था हुँदैन । भएका कर्मचारीहरुलाई परिचालन गरि हामी सेवा दिन्छौँ’, अध्यक्ष गुरुङले भने । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!