'लिगलिगकोट' आकर्षक गन्तव्य बन्दै, शुरु भयो 'लिगलिगकोट होमस्टे'

Posted on: 29 Nov, 2020

मनोज पराजुली । मंसिर १४, गोरखा । ऐतिहासिक तथा पर्यटकीय नगरी 'लिगलिगकोट' घुम्न आउने पर्यटकले अबदेखि होमस्टे बस्न पाउने भएका छन् । पालुङ्गटार नगरपालिकाका  नगरप्रमुख दिपकबाबु कडेंल र उपप्रमुख पम्फा बसेलले शनिबार 'लिगलिगकोट होमस्टे' को औपचारिक रुपमा उद्घाटन गरेका हुन् । 


पालुंङ्गटार नगरपालिका २ स्थित लिगलिगकोटको फेदीमा रहेको खोल्ली मगर गाउँमा पहिलो चरणमा ७ घरबाट होमस्टे सुरु गरिएको छ । ७ घरबाट शुरुवात गरिएपनि  छिट्टै संख्या बढाएर २० पुर्याउने  योजना रहेको लिगलिगकोट होमस्टे समितिकी कोषाध्यक्ष देवी ठकुरीले बताइन् । 

होमस्टे शुरु भएसंगै लिगलिगकोट घुम्न आउने पर्यटकले अब स्थानीय स्तरमा उत्पादन भएका परिकारको स्वाद लिन पाउने उनले बताइन् । होमस्टेमा स्थानीय परिकारसंगै पाहुनालाई स्थानीय मगर समुदायको विभिन्न कला संस्कृति झल्कने नाचगान समेत देखाउने योजना बनाइएको समितिले जनाएको छ ।


होमस्टेमा बस्न आउने पाहुनाका लागि पालुंटार २ सिमपानी घर भई हाल अमेरिका बस्ने डाक्टर बालकृष्ण शर्माको पहलमा छुट्टा छुट्टै घर समेत निर्माण गरिएका छन् । एक कोठे घरमा २ वेड रुम गरि हाललाई १४ जना सहज तरिकाले बस्न सक्ने व्यवस्था गरिएको लिगलिगकोट विकास अभियानका अधय्क्ष पूर्ण बहादुर रानाले बताए । शर्माको पहलमा ७ घर निर्माणका २१ लाख आर्थिक सहयोग प्राप्त भएको उनले बताए । 


पालुङ्गटार नगरपालिकालाई चिनाउने माध्यम नै लिगलिगकोट हो होमस्टेको उत्घाटन गर्दै नगरप्रमुख दिपकबाबु कडेंलले भने 'लिगलिगकोट इतिहासको केन्द्रबिन्दु साथै पर्यटनको अथाह सम्भावना भएको ठाउँ हो, यहाँको प्रचार प्रसारमा नगरपालिकाले विशेष ध्यान दिएको छ ।'


पर्यटकीय आगमनको  सिजन सुरु भएसंगै गोरखाको ऐतिहासिक, धार्मिक र सास्कृतिक  महत्व बोकेको  लिगलिगकोटमा स्वदेशी पर्यटकको उपस्थिति बढेको छ । लिगलिगकोटमा  पर्यटकहरु घुम्न, विद्याथीहरु शैक्षिक भ्रमण तथा पिकनिकका लागि आउने गरेका छन् ।  पछिल्लो समय कोरोना महामारीका कारण केहि कम भएपनि अहिले पुन:आन्तरिक पर्यटक आउने क्रम बढेको  अध्यक्ष  रानाले बताए । कोरोनाबाट बच्न सामाजिक दुरी, माक्सको प्रयोग, स्यानिटाइजरको प्रयोग गर्दै पर्यटकीय गतिविधिलाई पुन: शुचारु गरिएको रानाले बताए ।


नेपालमा प्राकृतिक सौन्दर्य, सांस्कृतिक तथा ऐतिहासीक महत्व आदिले सम्पन्न भएका ठाउँहरुमध्ये लिगलिगकोट पनि एक हो तर उचित प्रचार प्रसार र प्रबद्र्धनको अभाब लिगलिगकोटले भोगिरहेको छ । तर ऐतिहासिक धरोहरहरुलाई उचित संरक्षण तथा संबद्र्धन गरि त्यहाँका जनतालाई मुलुककै पर्यटन ब्यवसायको मुलधारमा ल्याउन सकिने राना बताउँछन् । स्थानीय अभियन्ता गेहेन्द्र रानाको पहलमा  २०६५ सालमा लिगलिगकोट विकास अभियान  गठन गरी लिगलिगकोटको विकासको लागि काम शुरु भएको थियो । सो पश्चात समितिले लिगलिगकोटको विकासका लागि खानेपानीको धारा निर्माण, पाटी, रेलिङ, सिढीं र गेट लगायतका संरचना निर्माण गरेको छ । 

लिगलिगकोटको डाँडाबाट बौद्ध हिमाल, मनास्लु, हिमालचुली, गणेश हिमाल लगायतका दर्जन बढि हिमश्रङखलाहरुको अवलोकन गर्न सकिन्छ । सेता टिलिक्क टल्कने हिमालहरुले यहाँ पुग्ने  जो कोहीको मन लोभ्याउने गर्दछ चाहे बालक होस् या वृद्ध । पर्यटकीय क्षेत्र लिगलिगकोट पुग्ने जो कोही पर्यटकहरु पनि मन्त्रमुग्ध हुने गर्दछन् । त्यसो त यहाँबाट देखिने मनास्लु हिमश्रङखलको मनोरम दृष्य, लमजुङको पर्यटकीय क्षेत्र राइनसकोट, लाली गुराँसको जंगल, लिगलिगकोटको पुराना दरबार, कोट, किल्ला, गढी, पुराना भग्नावशेष अनि नागबेली आकारमा बगेको चेपे नदीको मनोरम दृश्यले सबैको मन लोभ्याईरहेको हुन्छ ।

लिगलिगकोट चिनारी

लिगलिगकोट गोरखा जिल्लाको साविकको आँपपिपल गाविस वडा नम्बर ४ हालको पालुङटार नगरपालिका वडा नम्बर २ खोल्लीमा पर्दछ । ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो। लिगलिगकोट समुन्द्री सतहबाट करिब १ हजार ४ सय ३७ मिटर अर्थात ४,७९० फिट उचाईमा अवस्थित छ । गोरखा जिल्लाका ३९ वटाकोटहरुमध्ये लिगलिगकोट एक हो । लिगलिगकोट नेपाल एकिकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाहको दरवार रहेको स्थान पनि हो । यिमध्ये लिगलिगकोट क्षेत्र धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पुरातात्विक दृष्टिकोणले निकै महत्वपुर्ण छ ।  २ सय ४० वर्षसम्म एकछत्र रुपले शासन गरेको नेपालको शाह बंशको उदयबिन्दु मानिने लिगलिगकोट क्षेत्र पर्याप्त सम्भाबना बोकेको एक ऐतिहासिक पर्यटकीय स्थल पनि हो । यस क्षेत्रभित्र रहेका श्रीकालिका माई, भुमे, भीमसेन र द्रव्यदेवीको स्थान, मूलकोटसहित पाँचवटा गढी, शिलालेखहरू र बस्ने पाटी रहेका छन्  ।


इतिहास जोगाउन दौड प्रतियोगिता 

गोरखाको इतिहास जगेर्ना गर्न बि स. २०६७ सालदेखि हरेक वर्ष बिजयादशमीको अवसर पारेर लिगलिगकोट विकास अभियानले लिगलिगे दौड प्रतियोगिता गर्दै आएको छ। दौड प्रतियोगितामा सहभागीहरुले चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु गरेर १३.८ किलोमिटर दूरी दौडेर लिगलिग कोटसम्म पुग्नुपर्नेछ । लमजुङ र गोरखाको सिमानामा पर्ने चेपेघाटबाट सुरु हुने दौड ठाँटीपोखरी, छाप्थोक, बडडाँडा, साउनेपानी, बोहरा गाउँ, मैबल, दर्खेपानी, राई गाउँ, बिजुलेडाँडा हुँदै लिगलिगकोट दरबारमा गएर सकिन्छ । दौडमा जो पहिले लिगलिगकोटसम्म पुग्छ उसलाई नै लिगलिगे राजा घोषणा गरिंदै आएको छ। दौडमा पहिलो हुनेलाई एक वर्षका लागि राजा घोषणा गर्दै श्रीपेचको साथमा साठी हजार एक सय रुपैयाँ पगरी,मेडल र ट्रफी प्रदान गरिंदै आएको छ । इतिहासलाई पल्टाएर हेर्ने हो भने यहाँ राजा छान्ने परम्परा बि.स. १६०४ को बिजया दशमीको दिनदेखि सुरु भएको पाइन्छ । पाल्पाका राजा मुकुन्दसेनको मृत्यु पश्चात उनका छोराले राज्य चलाउन नसकेपछि लिगलिगकोटका स्थानीयहरुले चेपेबाट दौडेर लिगलिगकोट पुग्ने र जित्ने ब्यक्तिलाई राजा बनाउने सहमति भएको इतिहासमा छ । हरेक वर्ष हुँदै आएको दौड प्रतियोगिता यस वर्ष कोरोना महामारीका कारण हुन नसकेको अध्यक्ष रानाले बताए ।


लिगलिगकोटसम्म कसरी पुग्ने ?

लिगलिगकोट पुग्न विभिन्न बाटाहरु रहेका छन् । तनहुँ जिल्लाको डुम्रेबाट तुरतरे हुदै पालुङटारबाट लिगलिगकोटसम्म पुग्न सकिन्छ । त्यस्तै लमजुङको बेसीसहरतिरबाट राइनस नगरपलिकाको धमिलिकुवा हुदै पनि यहाँ पुग्न सकिन्छ भने बेसीशहरबाट तुरतुरे आएर पनि यहाँसम्म पुग्न सकिन्छ ।  गोरखा सदरमुकामबाट छेपेटार–खोप्लाङ–लुइँटेल–बडडाँडा हुँदै पनि जान सकिन्छ । जुनसुकै ठाउँबाट आएपनि गाडीबाट ओर्लिएको २० मिनेटमा लिगलिगकोट क्षेत्र पुग्न सकिन्छ । विशेगरी पिकनिक आउनेहरुको मागलाई ध्यानमा राखी समितिले खोल्ली गाउँबाट लिगलिगकोटको गेटसम्म गाडी  पुग्ने व्यवस्था गरिएको अध्यक्ष राना बताउँछन् । लिगलिगकोटमा समूहगत रुपमा पिकनिक गर्दा वा एक रात बस्दा पानी, बिजुली, फोहोर व्यवस्थापन वापत एक दिनको ५ सय रुपैयाँ लिने गरिएको रानाले बताए । तस्बिर: पूर्ण बहादुर राना 



यस बिषयमा तपाइको प्रतिक्रिया...!