गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान

Posted on: 08 Jan, 2023

पुस २४, गुल्मी | गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान हुने भएको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ९एन-एएलओ ट्वीनअटर जहाजले आज बिहान ११ बजे डेमोस्ट्रेसने उडान गर्न लागेको हो । 

डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उडड्यन प्राधिकरण, तारा एयरलाइन्स र  रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि तारा एयरले परीक्षण उडान गर्न लागेको नगरपालिका प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।


डेमोस्ट्रेसन उडान हुने भएपछि नगरपालिकाले आज कार्यालयमा बिदा दिएको छ । “डेमोस्ट्रेसन उडान हुने भएपछि आइतबार नगरपालिका र वडा कार्यालयमा बिदा दिइएको छ”, उपप्रमुख अमृतादेवी कुँवरले भन्नुभयो, “विद्यालयलगायतका अन्य स्थानमा भने बिदा हुने छैन ।” 

विसं २०६३ सालदेखि निर्माण शुरु गरिएको विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो । कुल ३३ करोड लगातमा निर्माण गरिएको विमानस्थलको लम्बाई पाँच सय २० मिटर र चौडाइ २० मिटर छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुन्द्र सतहदेखि १५ सय २६ मिटरको उचाइमा पर्छ । 

आज हुने डेमोस्ट्रेसन उडानका लागि सुरक्षा व्यवस्थाको सम्पूर्ण तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताउनुभयो । जहाज काठमाडौंबाट बिहान ११ बजे उड्ने छ भने विमानस्थल आइपुग्दा करिब ५० मिनेट लाग्ने प्राधिकरणले जनाएको छ । 

डेमोस्ट्रेसन उडानपछि नियमित उडानका लागि थप प्रक्रिया थालिने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताउनु भएको छ । 

लामो समयपछि गुल्मीवासीहरुको सपना साकार भएको भन्दै गुल्मी क्षेत्र नं १ का सांसद चन्द्र भण्डारीले यो आजको अवस्थासम्म ल्याई पु¥याउन सहयोग गर्ने सबै राजनीति दल, विभिन्न निकाय र जिल्लावासीलाई धन्यवाद व्यक्त गर्नु भएको छ । उहाँले आगामी दिनमा नियमित उडानका लागि पनि सबैको सल्लाह एवं सहयोग अपरिहार्य रहेको बताउनु भयो । 

त्यसैगरी पूर्व सांसद एवं नेकपा एमालेका उपमहासिचव प्रदीप ज्ञवालीले सुरक्षीत हवाई यात्रा  समयमै गन्तव्यमा पुग्न, बिरामीलाई लैजान र आकस्मिक सेवाका लागि निकै महत्वपूर्ण हुने बताउनुभयो । उहाँले यसलाई नियमित गराउनेतर्फ सबैले ध्यान दिनुपर्ने भन्दै आफू परराष्ट्रमन्त्री हुँदा शिलन्यास गरेको बिमानस्थलमा ढिलै भएपनि उडान शुरु हुन लागेकोमा खुसि व्यक्त गर्नुभयो ।

डेमोस्ट्रेसन उडानमार्फत् सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्र बहादुर कार्की लगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी आउनुहुनेछ । रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ साल जेठ २५ मा धुले परीक्षण उडान गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!