उडानमा अनिवार्य गरिएको कोभिड प्रोटोकल हटाइयो

Posted on: 30 May, 2023

जेठ १६, काठमाडौँ | नेपालका लागि हुने अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा अनिवार्य गरिएको मास्क, खोप कार्ड, पीसीआर जाँच लगायतका कोभिडसम्बन्धी प्रोटोकल हटाइएको छ । कोभिड–१९ को घट्दो प्रभाव तथा वैशाख अन्तिम साता विश्व स्वास्थ्य संगठनले विश्वव्यापी संकटकालको अन्त्यको घोषणासँगै नेपालले हवाई सेवामा अनिवार्य गरेको उक्त नियम हटाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार, हवाई यातायातमा कोभिड–१९ को संक्रमण फैलिन नदिन नेपालले अनिवार्य गरेका पछिल्लो पटकका हेल्थ प्रोटोकल नागरिक उड्डयन प्राधिकरणले हटाएको हो ।


‘विदेशबाट नेपाल आउन अब मास्क, खोप कार्ड, पीसीआर जाँच चाहिँदैन, कोभिडअघिको सामान्य अवस्थाझैं यात्रुले हवाई यातायात गर्न पाउने भएका छन्,’ प्रवक्ता निरौलाले भने, ‘यो नियम नेपालभित्रका लागि हो । यदि नेपालबाहिर कुनै मुलुकमा अनिवार्य गरिएको छ भने त्यो चाहिँ बाहिर निस्किने यात्रुले पालना गुर्नपर्ने हुन्छ ।’

०७८ मा सीसीएमसीले जहाजलाई पनि सार्वजनिक स्थानसरह मान्दै र्‍याम्प बसमा यात्रुको चाप घटाउनुपर्ने, मास्क अनिवार्य, शौचालयमा जान नपाइने, जहाज क्रुजमा रहेका बेला हिँड्डुल गर्न नपाइने, इन–फ्लाइट म्यागजिन हटाउनुपर्ने, इन–फ्लाइट फुड (खाजा) वितरणमा रोक लगाउने निर्णय गरेको थियो । प्राधिकरणको यो नियमसँगै अब आन्तरिक वायुसेवाहरुले जहाजमा कटौती गरेका सेवा तथा सुविधाहरु खुला गर्ने बाटो खुलेको छ ।

प्रवक्ता निरौलाले आन्तरिक उडानमा पनि यो नियम लागू भएको बताए । ‘कोभिडसम्बन्धी प्रोटोकलहरु अब कुनै पनि रहेन । प्राधिकरणले जारी गरेका कोभिडसम्बन्धी विमानस्थल तथा वायुयानका सबै मापदण्ड हटाइएको छ,’ उनले भने ।

उड्डयनसम्बन्धी सरोकारवाला निकायलाई जानकारी दिन प्राधिकरणले २०७९ असार १७ मा प्रकाशन गरेको पछिल्लो एरोनटीकल इन्फरमेशन पब्लिकेसन (एआईपी)बाट कोभिड प्रोटोकल आइतबार हटाउने निर्णय गरेको थियो । उक्त निर्णय एआईपीमा राख्दै प्राधिकरणले नेपालमा उडान गर्ने दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय वायुसेवा र आन्तरिक वायुसेवा कम्पनीलाई पनि जानकारी गराएको छ ।


 

यस बिषयमा तपाइको प्रतिक्रिया...!