सडकसञ्जालसँग नजोडिँदा सहुलियत चामलको भर कहिलेसम्म ?

Posted on: 04 Jan, 2022

पुस २०,  काठमाडौँ | रासस | “हुम्लीले अनुदानको चामल पाएकैभरमा खाद्यका कर्मचारी र प्रमुख जिल्ला अधिकारीलाई भगवान् कहिलेसम्म मानिरहने ?” प्रतिनिधिसभामा हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद् रङ्गमती शाहीले पटक पटक यही प्रश्न सदन र समितिमा उठाउँदै आउनुभएको छ । 

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा जुनसुकै सडकसम्बन्धी छलफल भए पनि उहाँ कणार्ली करिडोर खुलिसक्न अझै लामो समय लाग्ने जनाउँदै आउनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले करिडोर चालू आवभित्रै खुलाइसकिने बताउँदै आए पनि उहाँको यसमा विश्वास छैन । दुल्लीकुना–लालीबगर खण्डमा चट्टानै चट्टान भएकाले खुलाउन लामो समय लाग्ने उहाँको भनाइ छ । 

सातकिमी लम्बाइको सो खण्ड पूरै नेपाली सेनालाई दिँदा मात्रै दुई वर्षमा सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“सडक विभागले खुलाउँदा पाँचसात वर्षै लाग्नसक्छ ।” देशभरका ७७ जिल्लामध्ये सदरमुकाम सडक सञ्जालमा जोडिन बाँकी एक मात्रै जिल्लामा हुम्ला छ । जिल्लाको पनि सडक पुगेका र नपुगेका क्षेत्रका मानिसको जनजीवन धेरै फरक भएको उहाँले बताउनुभयो । अन्यत्र सदरमुकाम भनेपछि सुगम ठानिए पनि सडकमा नजोडिएकाले सिमकोट अझै दुर्गम भएको छ । 

 सडक पुगेका ठाउँका मान्छे मसिनो चामल खाने गरेपनि सदरमुकामकै जनता सहुलियत चामलको आशा गर्नुपरेको छ । सडक सञ्जालमा जोडिन बाँकी भएकै कारण स्थानीयवासीले शिक्षा, स्वास्थ्यलगायतमा समेत असर परिरहेको सांसद् शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका मानिस सामान्यदेखि गम्भिर समस्या आउँदा एम्बुलेन्स चढेर उपचार गर्न पाइरहेका छैनन् ।”

राष्ट्रिय गौरबको सो करिडोर हिल्सा–सिमकोट ९५ किमी र सिमकोट–सरिसल्ला ५० किमी गरी १४५ किमी रहेको छ । हिल्सा– सिमकोट सडकको ट्र्याक खुलाइसकिएको छ । सो सडकमा छ्याछारा भीरको ग्रेड मिलाइसकिएपछि सिमकोटबाट चीनको सीमानामा पर्ने हिल्सा पुग्न सकिनेछ । पचास किमी रहेको सिमकोट–सरिसल्ला सडकको ४० किमी ट्र्याक हिल्सा–सिमकोट सडक योजनाले खुलाइसकेको छ । ट्र्याक खुलाउन बाँकी १० किमी लालीखोला भीरदेखि स्यालटारे पर्छ । अप्ठेरो चट्टानी भागमा खुलाउन बाँकी रहेको छ । यसमध्ये अप्ठेरो सात किमी सेनालाई जिम्मेवारी दिइएको थियो । तीन किमी सडकमा अहिले सडक र अस्थायी बेलिब्रिज निर्माण व्यवसायीमार्फत निर्माण भइरहेको छ । 

मन्त्रिपरिषद्को गत असोज ५ गतेको निर्णयबाट थप दुई खण्डको जिम्मेवारी सेनालाई दिइएको थियो । दुल्लीकुना–लालिबगर सात किमी र घाटपारीचौर–बद्रिगाउँ–भुक्काखोला १३ दशमलव पाँच किमी सेनाले गर्ने सेनाको विकास निर्माण निर्देशनालयका प्राविधिक सहायक रथी कमलविक्रम शाहले बताउनुभयो । सो स्थानभन्दामा आठ सयमिटर माथिबाट सडक रहेको छ ।

 त्यहाँ १८ किमी सडक छ भने नयाँ ट्र्याक नदी नै नदीबाट जाने उहाँले बताउनुभयो । चालू आवमा कालीकोट जिल्लाको खुलालुदेखि सरिसल्लासम्म विभिन्न स्थानमा पहिरो रहेकामा त्यसलाई हटाइसकिएको प्राविधिक सहायक रथी शाहले बताउनुभयो । हुम्लामा नै दुल्लीकुनाबाट लालीबगर सडक खण्डमा सुनाखाडा इलाका क्याम्प स्थापना गर्ने र तीन किमी ट्याक खोल्ने काम सुरु भएको उहाँले बताउनुभयो । 

दुई वर्षभित्रमा ट्र्याक सम्पन्न गर्ने लक्ष्य रहेको सेनाले जनाएको छ । घाटपारीचौर–बद्रिगाउँ–भुक्काखोला खण्डअन्तर्गत बाजुराको भुक्काखोला इलाकामा ट्याक निर्माण सुरु गरिएको छ । भौगोलिक रुपमा विकट र कठीन भूवनोटका कारण निर्माण अघि बढाउनु समस्याका रुपमा रहेको प्राविधिक सहायक रथी शाहले बताउनुभयो । सरिसल्लाामा हुम्ला कर्णाली नदीमा पुल नभएकाले निर्माण सामग्रीको उपलब्धता तथा ढुवानीमा कठिनाइ भएको छ । उहाँले भन्नुभयो, “निर्माण सामग्री, उपकरण तथा हेभिइक्युप्मेन्ट हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने अवस्था छ ।” 

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको टोली करिडोरको स्थलगत अवलोकनका लागि गत कात्तिक ११ गते पुगेको थियो । 

सांसदलाई पनि स्थानीयवासीले बाँकी खण्डमा निर्माणको जिम्मेवारी सेनालाई नै दिन भनेको सांसद शाहीले जानकारी दिनुभयो । सेनाले ६ वटा बेलिब्रिज निर्माण गत आवभित्रै सम्पन्न भइसकेको छ  । विगतमा खोलिसकिएको हिल्सा–सिमकोट सडक योजनालाई गत  असार ३१ मै हस्तान्तरण गरेको थियो ।  

हिल्सा–सरिसल्ला खण्डअन्र्तगत हेप्का, ताग्रु, सल्ली र यङ्गार गरी चार पुल निर्माणाधीन छन् । खार्पुनाथमा पक्की पुल र छारे लेप्चेमा दुई बेलिब्रिजको ठेक्का सम्झौता भइसकेको छ । सेनाले हस्तान्तरण गरिसकेको सडकमा सुधारका काम सडक विभागको योजना रहेको भौतिक पूर्वाधार सचिव रवीन्द्रनाथ श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सडक चौडा तथा सुधार र पक्की पुलका लागि बजेट विनियोजन भएर ठेक्काको तयारी भइरहेको छ । कर्णाली करिडोरको सुरुको विन्दु कालीकोटको खुलालु र अन्तिम विन्दु हुम्लाको सरिसल्ला रहेको छ । कालीकोट ४० किमी, बाजुरा ४४ किमी र हुम्ला ३८ दशमलव ७५ किमी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!