हुम्लामा स्थानीय चुनावको तयारी

Posted on: 14 Mar, 2022

फागुन ३०, सिमकोट । वैशाख ३० गते घोषणा गरिएको स्थानीय तहको निर्वाचनका लागि हुम्लाका विभिन्न राजनीतिक दलले गाउँ केन्द्रित कार्यक्रम सुरु गर्न थालेका छन् । जिल्लाका मुख्य राजनीतिक दल (नेकपा एमाले), (नेपाली कांग्रेस), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थानीय तह लक्षित कार्यक्रम सुरु गरिरहेका छन् । 

 ती दलले जिल्लाको उत्तरी नाम्खा गाउँपालिका बाहेक अन्य ६ स्थानीय तहमा रहेका प्रत्येक वडा तथा पालिकास्तरमा आमसभा, कार्यकर्ता भेटघाट, सङ्गठन विस्तार, घरदैलो अभियान लगायतका कार्यक्रम सञ्चालन गरिरहेका छन् । 

नेपाली कांग्रेस हुम्ला आइतबारदेखि घरघर जाउँ नेपाली कांग्रेस जिताउँ अभियानका साथ घरदैलो कार्यक्रममा गाउँ केन्द्रित भएको छ । नेकपा एमाले हुम्लाले दक्षिणका ताँजकोट, अदानचुली गाउँपालिकामा वृहत आमसभा सम्पन्न गरेर चङ्खेली गाउँपालिकामा लागेको छ । एमालेले सातवटै गाउँपालिकामा वृहत आमसभा सञ्चालन गर्ने भएको छ भने हाल दुई पालिकामा यो कार्यक्रम सम्पन्न गरेको छ । 

यस्तै नेकपा माओवादी केन्द्र हुम्लाले जसपासँग समायोजनदेखि जिल्लाका विभिन्न पालिकामा सङ्गठन विस्तार तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्र पारिरहेको छ । यसैगरी एकीकृत समाजवादी पार्टीले केही दिन अघिदेखि दक्षिणभेगमा रहेका गाउँपालिकामा चुनाव लक्षित आफ्नो कार्यक्रम सञ्चालन गरिरहेको छ । 

हुम्लाका सबै राजनीतिक दलले कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा जुट्न आग्रहसमेत गर्दै आइरहेका छन् । अन्य समय सहर केन्द्रित हुने जिल्लाका नेता तथा जनप्रतिनिधि स्थानीय तह चुनावको मिति तय भएसँगै यतिबेला चुनाव जित्न जनतासँग भोट माग्न व्यस्त छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!