जङ्गली जनावरको आक्रमणबाट विद्यार्थी तथा किसान चिन्तित

Posted on: 04 Jan, 2022

पुस २०, मङ्गलबारे | सात वर्षका युनिक सुवेदी डेढघण्टा धाएर निजी विद्यालय जानुहुन्छ । इलामको माइजोगमाईका ३ नामसालिङका उहाँ उकालो बाटो धाएर शुक्रबारे बजारमा रहेको पशुपति एकाडेमीमा कक्षा २ का अध्ययन गर्नुहुन्छ । उहाँ विद्यालय जाँदा कसैको सहारामा जाने गर्नुभएको छ ।

हाल उहाँजस्तै धेरै विद्यार्थी एकसाथ विद्यालय जाने गर्नुभएको छ । प्रायः उहाँहरु स्थानीय शिक्षिका देवी सुवेदी अधिकारीसँग विद्यालय जाने गर्नुभएको छ । कारण हो जङ्गली जनावरको त्रास । गाउँमा पछिल्लो समय जङ्गली जनावरले आक्रमण गर्न थालेपछि विद्यार्थी हुल बाँधिएर विद्यालय जान बाध्य छन् । त्रसित भएका विद्यार्थी जङ्गलको बाटो हुँदै विद्यालय जानुपर्ने बाध्यता छ । 

विद्यालयकी शिक्षिका विद्यालय जान नसकेका दिन घरका ठूला मान्छेको सहारामा विद्यलय पठाउने गरिएको सो क्षेत्रका अभिभावकको भनाइ छ ।  विद्यार्थी मात्र है सो क्षेत्रमा क्रमैसँगै बँदेल चितुवा र भालुलगायतका जङ्गली जनावर निस्किन थालेपछि गाउँले नै चिन्तित बन्नुभएको छ । सो क्षेत्रमा किसान जङ्गली जनावारका कारण त्रसित मात्र हैन बाली नै सखाप गर्न थालेपछि चिन्तित भएका छन् । लगातार बँदेल, चितुवा र भालु जस्ता जनावारले खेतीबारी र मान्छेलाई नै आक्रमण गर्न थालेपछि त्रसित हुनुभएको हो । पछिल्लो समय किसानले लगाएको आलुलगायतका खेतबारीमा बँदेलको हुल नै पसेर खेतीबारी नष्ट गर्न थालेपछि समस्या भएको माईजोगमाई थुम्केकका किसान तेजबहादुर कठेतले बताउनुभयो ।

उहाँका अनुसार रातका समयमा बँदेलको हुल नै पसेर बाली नष्ट गर्ने गरेको छ । किसानले लगाएको आलुको बीउ बँदेलको सुँडले जोतेर बाहिर निकाल्ने र खाने गरेको छ । भर्खरै रोपिएको आलुको बीउ पनि खान थालेपछि आफ्नो साँवा नै गुमेको सो क्षेत्रका किसानको भनाइ छ । रातको समयमा बँदेलको हुल नै पस्ने भएकाले बाली जोगाउन समस्या भएको उनीहरुको भनाइ छ । 

स्थानीय सरकारलाई यस बारेमा पटक–पटक जानकारी गराए पनि बेवास्ता गर्ने गरेको उनीहरुको भनाइ छ । यस सिजनमा बीउ आलु खाने र उम्रिएपछि फलुञ्जेलसम्म आलुको चिनोबानो नहुँने उनीहरुको दुखेसो छ । गाउँपालिकाको थुम्के, जौबारी, प्याङ, नामसालिङ लगायतका क्षेत्रमा बँदेलले बढी दःुख दिने गरेको छ ।

सो क्षेत्रमा बँदेलले मात्र हैन चितुवा र भालुको आक्रमणबाट किसानले पालेका बाख्रासमेत  आक्रमणमा पर्न थालेका छन् । चितुवा र भालुले बाख्रा खान थालेपछि किसान थप चिन्तित भएका छन् । गएको बर्खाबाट देखा परेको चितुवाले माईजोगमाई गाउँपालिका ३ नामसालिङका किसानले पालेका बाख्रा खान थालेको छ ।

यसका कारण सुरेश सुवेदीलगायत धेरै किसानका बाख्रा मारेको बताइएको छ । चितुवाको आक्रमण बढ्न थालेपछि किसानले बेँसीमा पालेका बाख्रालगायत गाईका बाच्छा जोगाउन समस्या भएको बताउने गरेका छन् । खोरमा नै पसेर आक्रमण गर्न थालेपछि किसानलाई आफ्ना चौपाय जोगाउन समस्या भएको छ । 

चितुवाले मान्छेलाईसमेत आक्रमण गर्ने भएकाले स्थानीयवासीले त्यसको व्यवस्थापनमा सरकार लाग्नुपर्ने बताउँदै आएका छन् । बाँदर, मृग, खरायोलगायतका जङ्गली जनावारले किसानले लगाएको खेती खाएर नष्ट गरिरहेकै समयमा पछिल्लो समय भालुलेसमेत दुख दिन थालेपछि चिन्ता थपिएको छ । भालुले मान्छेलाई नै आक्रमण गर्न थालेपछि समस्या भएको छ ।

विद्यार्थी विद्यालय आवतजावत गर्दासमेत एकै समयमा हुल बाँधिएर हिँड्न थालेका छन् । गाउँमा भालुको आक्रमण बढ्न थालेपछि गाउँमा त्रास फैलिएको छ । भालुको नङ्ग्राबाट स्थानीयवासी घाइते भएका छन् । जङ्गली जनावारको आक्रमणबाट जोगाउन स्थानीयवासी प्रदेश र सङ्घीय सरकारसँग मागसमेत गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!