पर्यटकको रोजाइमा सिस्नुका परिकार

Posted on: 02 Jan, 2019

पुस १८, कालिकोट । कर्णाली सामुदायिक होमस्टेका सञ्चालक पुत्रबहादुर मल्ल सुरुका दिनमा अलमलमा थिए, पर्यटकलाई के खुवाउने ? सहर–बजारबाट आएका पर्यटकले गाउँका परिकार रुचाउलान् भन्नेमा ढुक्क थिएनन् । तैपनि, उनले खाँडाचक्र नगरपालिका–७ पिलीमा कर्णाली सामुदायिक होमस्टे सुरु गरेदेखि नै स्थानीय परिकार बनाउन थाले। सिस्नुको तरकारी, पकौडा, कोदोको रोटी, ढिँडो, मकैको रोटी, रातो चामलको भात । ‘पर्यटकले त सिस्नु मन पराए, सिस्नुको परिकार नखाने कोही हुँदैनन्,’ मल्लले भने।

उनले सिस्नुको साग र तकारी बनाउँछन् । खाजा लागि सिस्नुको पकौडा पाक्छन् । चियासँगै पकौडा खाने कमै हुने गरेको उनले बताए। ‘पर्यटकको पहिलो रोजाइ नै सिस्नु हुन्छ। कतिपयले खाइसकेपछि घरका लागि भनेर सिस्नुको पिठो पनि लग्छन्,’ उनले भने । कर्णाली होमस्टेमा सिस्नुसँगै स्थानीय उत्पादनका परिकार नै पाक्छन् । कोदो र मकैको रोटी पनि धेरैले खाने गरेका छन् ।

त्यसपछि मात्रै भात पर्यटकको रोजाइमा पर्छ। त्यसमा पनि रातो चामलको भात खाने गरेको उनले बताए। ‘गाउँको वातावरणमा खानामा पनि गाउँकै स्वाद हुन्छ। सहर–बजारका होटलमा जस्तो मरमसला नभएको, खानाकै स्वाद पाइन्छ,’ मल्लले भने।

पर्यटकलाई बसोबास, खानपिनबाट सन्तुष्ट बनाइरहेका मल्ललाई इन्टरनेटको कमीले केही अभाव भएजस्तो लाग्छ। प्रायः सबै बाह्य तथा आन्तरिक पर्यटकले इन्टरनेट खोज्ने गरेको उनले बताए। ‘इन्टरनेट छ ? भनेर सोध्छन् । छैन भन्नु परेको छ,’ उनले भने। मोबाइलसमेत राम्ररी नलाग्ने पिलीमा इन्टरनेट नहुँदा पयर्यटक धेरै दिन नबस्ने गरेको उनको अनुभव छ । ‘इन्टरनेट भए पर्यटक केही दिन बस्थे, अहिले एक–दुई दिनमै निस्किहाल्छन्,’ उनले भने।

यस बिषयमा तपाइको प्रतिक्रिया...!