जिल्लास्तरीय ब्याडमिन्टनको उपाधि चन्द र विष्टको जोडीलाई

Posted on: 18 Apr, 2023

वैशाख ५, कञ्चनपुर | कञ्चनपुरको महेन्द्रनगरमा सोमबार  सम्पन्न स्व लक्ष्मण चन्द स्मृति पुरुष डबल्स जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि नरेन्द्र चन्द र वीरेन्द्र विष्टको जोडीले जितेको छ ।

अन्तिम खेलमा सुरेन्द्र कार्की र प्रकाश विष्टको जोडीलाई पराजित गर्दै चन्द र विष्टको जोडीले उपाधि हात पारेको हो । प्रतियोगिताका प्राविधिक कमिटी संयोजक दिलबहादुर धामीले प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु २५ हजार, प्रमाणपत्रसहित पुरस्कृत भएको जानकारी दिनुभयो ।

त्यसैगरी प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको कार्की र विष्टको जोडी रु १५ हजार नगद, प्रमाणपत्रसहित पुरस्कृत भएको छ । प्रतियोगिता समापन समारोमा सुदूरपश्चिम प्रदेशमा पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य प्रकाश रावलले विजेता र उपविजेता खेलाडीलाई पुरस्कृत गर्नुभयो ।

प्रतियोगितामा रामबहादुर पाली बोगटी, रमेश पाण्डेय एवं कृष्ण धामी र विवेक ऐरले तृतीय स्थान हासिल गरेका छन् । तृतीय हुने टिमले रु आठ हजार र प्रमाणपत्रबाट पुरस्कृत भएको प्राविधिक संयोजक धामीले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा जिल्लाभरका कुल ४२ टिमको सहभागिता रहेको थियो । 

त्यसैगरी स्व सरोज थापा स्मृति यु–१५ जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता आशिष खत्री प्रथम र उदय चन्द द्वितीय भएका छन् । फाइनल खेलमा खत्रीले चन्दलाई पराजित गर्दै उपाधि जितेका हुन् । उपाधि विजेता खत्री नगद रु १० हजार र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् भने द्वितीय हुने चन्द रु आठ हजारबाट पुरस्कृत भएका छन् । प्रतियोगितामा अक्षय खत्री र सुलभ चन्दले तृतीय स्थान हासिल गरेका छन् । तृतीय हुनेलाई रु दुई–दुई हजार नगद र प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।

ब्याडमिन्टनका पूर्व राष्टिय खेलाडी स्व लक्ष्मण चन्दको केही महिनाअघि निधन भएको थियो भने अर्का खेलाडी स्व थापाको कोरोनाका कारण निधन भएको थियो । उहाँहरूको सम्झानामा ब्याडमिन्टन सङ्घले प्रतियोगिता आयोजना गरेको हो ।

कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा सम्पन्न भएको प्रतियोगिता समापन समारोहमा नेपाल ब्याडमिन्टन सङ्घले खेल सामग्री र ब्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी दीपक बोहराले प्रोत्साहनस्वरुप जुनियर खेलाडीलाई नगद प्रदान गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!