नयाँ भेरिएन्टपछि सीमामा कडाइ

Posted on: 16 Jan, 2022

माघ २, कञ्चनपुर |  कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेसँगै पुर्नवास नगरपालिकासँग जोडिएका खुला सीमा नाकामा कडाइ गरिएको छ । 

छिमेकी मुलुक भारतमा दैनिक हजारौँको सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्नसक्ने भन्दै सुरक्षा निकायले सीमा नाकामा कडाइ गरेको हो । 

खुला सीमा नाकाबाट भइरहेको आवतजातलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि नगरपालिकाअन्तर्गत डोके बजारबाहेक अन्य सबै नाका पूर्ण रुपले बन्द गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । डोके बजार सीमा नाकामा पनि उच्च सतर्कता अपनाउनुका साथै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अनुरोध गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज भट्टले बताउनुभयो ।

उहाँका अनुसार डोकेबजारमा दैनिक रुपमा भारतबाट आउनेको सङ्ख्या धेरै भएका कारण त्यसलाई व्यवस्थित गर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालन गराउनका लागि थप सुरक्षाकर्मी उपलब्ध गराइदिनका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गरिएको छ ।

डोकेबजारमा रहेको हेल्थ डेस्कमा नियमिति रुपमा कोभिड– १९ को जाँच गर्दा देखिएका सङ्क्रमितमध्ये नगरपालिका क्षेत्रका सङ्क्रमितलाई आइसोलेसन र होम आइसोलेसनमा पु¥याउनका लागि नाकामै तयारी अवस्थामा एम्बुलेन्स राखिएको छ । 

सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भेला हुने गरी जुलुस, धर्ना भेला महोत्सव तथा सामाजिक तथा धार्मिक कार्य नगर्न नगराउनका लागि सूचनासमेत नगरपालिकाले जारी गरेको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकार कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सम्पूर्ण निर्देशन पालना गर्ने गराउने तर्फ नगरपालिकाले आवश्यक कारबाही अगाडि बढाएको छ । 

नाकामा विदेशी नागरिकको आगमनमा विशेष निगरानी र सतर्कता अपनाइएको नगरपालिकाले जनाएको छ । “विदेशी नागरिकको आगमनलाई विशेष प्राथमिकताका साथ अनुगमन गर्ने गरिएको छ”, प्रमुख प्रशासकीय अधिकृत भट्टले भन्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!