ठूला आयोजनामा सहयोग गर्न मुख्यमन्त्रीको आग्रह

Posted on: 07 Sep, 2021

भदौ २२, गण्डकी (रासस) । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले शिष्टाचार भेट गर्नुभएको छ । मुख्यमन्त्री कार्यालयमा सोमबार भएको औपचारिक भेटघाटमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंक सहयात्री बन्ने विश्वास व्यक्त गर्नुभयो । विश्व बैंकले नेपालको समग्र विकासमा पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै उहाँले आगामी दिनमा अझ धेरै सहयोग हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

गरिबीको अन्त्य र साझा समृद्धिका लागि क्रियाशील विश्व बैंकले नेपालको विकासमा पुर्याउँदै आएको सहयोगको स्मरण र प्रशंसा गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशको विकासमा पनि योगदान दिएको प्रति धन्यवाद व्यक्त गर्नुभयो । प्रदेशको अर्थतन्त्रको आकार सानो रहेको भन्दै उहाँले यसले मुलुकको ग्राहस्थ उत्पादनमा जम्मा आठ प्रतिशत योगदान गर्ने जानकारी दिनुभयो । राजश्व परिचालन रु दुईदेखि तीन अर्बको बीचमा रहेको र प्रदेशमा आर्थिक क्रियाकलाप कम भएकाले स्रोत परिचालन न्यून रहेको उहाँको भनाइ छ । 

सीमित स्रोत साधन र विविध चुनौतीका बीच प्रदेशले आफ्ना सोच, लक्ष्य र प्राथमिकता निर्धारण गरी अगाडि बढेको अवस्थामा कोभिड महामारीले आर्थिक, सामाजिक अवस्थालाई असर पारेको उहाँले बताउनुभयो । सुदृढ र आधुनिक यातायात सञ्जालले समृद्धिको मार्गप्रशस्त गर्ने भन्दै उहाँले प्रदेश राजधानी पोखराबाट बागमती वा लुम्बिनी प्रदेश भएर मात्र यसै प्रदेशको एक जिल्ला नवलपुर पुग्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो । हिमाली जिल्लामा समेत प्रभावकारी यातायात सञ्जाल विकास गर्न नसकिएको उल्लेख गर्दै उहाँले प्रदेशको यातायातको सम्पर्क सञ्जाल प्रभावकारी बनाउन विश्व बैंकले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मुस्ताङको कोरलानाकाबाट पोखरा, भीमाद, झ्यालबास हुँदै त्रिवेणी जोड्ने सडकलाई कम्तीमा दुई लेनको डेडिकेटेड सडकका रूपमा विकास गर्न सकेमा यो प्रदेशको स्वरूप नै फेरिने र यो मार्ग गण्डकी प्रदेशको समृद्धि मार्गका रूपमा रहने उहाँले बताउनुभयो ।

विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले नेपालको सङ्घीयता सुदृढीकरणका लागि विश्व बैंक सदा अग्रसर रहेको बताउनुभयो । कनेक्टिभिटीलाई आफूहरूले प्राथमिकतामा राखेर सहयोग गर्दै आएको भन्दै उहाँले मुस्ताङलगायत जिल्लामा उत्पादित अग्र्यानिक सामग्रीको ब्राण्डिङ र बजारीकरण लगानी गर्न तयार रहेको बताउनुभयो । भेटवार्तामा विश्व बैंक र एशियाली विकास बैंकका प्रतिनिधि, प्रदेशका प्रमुख सचिव डा दामोदर रेग्मी, प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा रघुराज काफ्ले, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाललगायतको उपस्थिति थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!