गण्डकी सरकारलाई पूर्व अर्थमन्त्रीको प्रश्न- दौरा सुरुवाल लगाउन र झण्डा हल्लाउन मात्रै सरकारमा जानु भ

Posted on: 04 Jul, 2022

असार २०, पोखरा | गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले मन्त्रीहरू दौरा सुरुवाल लगाउन र झण्डा हल्लाउनका लागि मात्रै सरकारमा गएको आरोप लगाएका छन् । बजेटमाथि समयमा छलफल अगाडि बढाउन नसकेको भन्दै उनले सरकारले आफ्नो हैसियत बिर्सिएको बताए । प्रस्तुत छ गुरुङले साेमबार संसदमा प्रस्तुत गरेको वक्तव्य :-


बजेटमाथि छलफल कहिले हुन्छ भनेर हामी कुरिरह्यौं । सरकार कहाँ छ ? के छ ? मलाई थाहा छैन । बजेटमा मैले प्रतिपक्षीको हिसाबले प्रतिक्रिया दिन सकिनँ । पाँच दिनपछि बैठक राख्न सहमति दिएका थियौं । २० दिन सरकार भूमिगत भयो । माओवादीलाई थाहा छ, भूमिगत किन हुन्छ ? कांग्रेसको नीति भूमिगत हुने थिएन । हामीले खोजिरह्यौं । संचार माध्यममा धेरै कुराहरू आएका छन् । सार्वभौम संसदलाई बन्दी बनाइयो । सभामुख सरकारको बन्दी हुनुभयो । २० दिनपछि हामी छलफलमा छौं।

अर्थमन्त्री ज्यू तपाईं अर्थमन्त्री कि अनर्थमन्त्री ? २० दिनसम्म संसदलाई बन्दी बनाउन पाइन्छ ? मुख्यमन्त्री ज्यू, २० दिनसम्म भूमिगत हुँदा बर्खायाम छ, कहिँ खिया त लागेको छैन ? अहिलेको मुख्य प्रश्न मुख्यमन्त्री ज्यूलाई मुख्यमन्त्री हुँ भन्ने विश्वास छ की छैन ? मिडियाले लेखेको छ । तपाईं निरिह हुनुभएको छ । के यस्तै हो ? साँच्चै हो ? कि के हो ? मलाई लाग्छ, यो सार्वभौम संसदले जवाफ पाउनुपर्छ । के का स्वार्थका निम्ति २० दिनसम्म संसद रोक्नुभयो ? जिम्मेवार हुनुहुन्छ कि हुनुहुन्न ? संविधानप्रति आस्था राख्नुहुन्छ की राख्नुहुन्न ? प्रदेशसभाप्रति विश्वास छ की छैन ? सरकारप्रति विश्वास छ की छैन ? दौरा सुरुवाल लगाउन र झण्डा हल्लाउनका निम्ति मात्रै सरकारमा जानुभएको हो ? की प्रदेशलाई समृद्ध बनाउँछु भनेर सरकारमा जानू भएको होइन ?

माओवादीका मित्रहरूलाई अनुरोध गर्न चाहान्छु, हिजो तत्कालिन प्रधानमन्त्री केपी  शर्मा ओलीको रिसले यो गठबन्धन बनाउनुभयो । साँच्चिकै कांग्रेसलाई बोक्न सजिलो रहेछ की अप्ठयारो  ? कांग्रेसलाई बोक्न निकै अप्ठयारो छ । न सिद्धान्त छ न विचार छ । न लक्ष्य र उद्देश्य मिल्छ । झण्डै भिरमा लगेर तपाईंहरूले गुल्ट्याउनु भएन । गुल्ट्याउने साहस पनि तपाईंहरूसँग छैन ।

माननीय मुख्यमन्त्री ज्यूलाई प्रश्न गर्न चाहान्छु, साँच्चिकै माओवादीसँग मिलेर सजिलो रहेछ ? यसरी नै सरकार चल्छ ? सबैले खोजिदिनुपर्ने सरकार कहाँ छ भनेर ? मिडियालाई पनि प्रतिपक्षीले जवाफ दिनुपर्ने । अनि तपाईंहरू के गरेर बस्नुभएको छ ? दौरा सुरुवाल लगाएर बस्नु भएको छ वा के गर्नुभएको छ ? यो गम्भीर प्रश्न हो । तपाईंहरूलाई विश्वास भएन । हुन त सरकारमा पुग्छु भन्ने विश्वास थिएन, सरकार पाउनुभयो । सरकार पाएपछि काम गर्छु भन्ने विश्वास जगाउनुपथ्र्यो । त्यो पनि जगाउनुभएन । हिजो कसरी आपसमा बाझ्नुभयो ? आज कसरी मिल्नुभयो ?

५ वैशाखमा छलफल हुनुपर्ने बजेट २० दिनसम्म रातो किताब सिरानी हालेर सुत्दिनुभयो । मैले अघि भनेको थिएँ, दिउँसै सपना देख्नुभएको रहेछ भनेर । माननीय ज्यूले प्रतिरक्षा गर्नुभयो । संघमा प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसै निदाइदिनुहुन्छ । दिउँसै सपना देख्नका लागि बजेट किताब सिरानी हालेर सुत्नुभएको हो ? हैन भने के का लागि ? विडम्बना यो भन्दा ठूलो के हुन्छ ? लाजको पसारो के हुन्छ ? तपाईंहरूलाई लाज लाग्दैन ? सरकारलाई लाज लाग्दैन ? अर्थमन्त्री, मुख्यमन्त्री र अरु मन्त्रीहरूलाई लाज लाग्दैन ? यस्तो पनि हुन्छ ?

बजेटको के कुरा गर्ने ? प्राथमिकताका आधारमा नीति र कार्यक्रम आयो, त्यसकै आधारमा बजेट आयो भन्नुभएको छ । गहन सुझाव लिनुस् । प्राथमिकता के हो ? तपाईंहरूको प्राथमिकतामा कुनै प्राथमिकता छ ? सरकारको औकात के हो ? तपाईंहरूले ख्याल गर्नुभएको छ ? ७० भन्दा बढी अभियानका कार्यक्रम छन् । सबैलाई बजेटले समेट्न सक्छ ? बजेट वक्तव्य हेर्दा रातो किताबसँग कुनै साइनो नै छैन । बजेट भाषण रातो किताबसँग सम्बन्धित हुनुपर्छ । भौतिक पुर्वाधारका लागि १० अर्ब छुट्याएको छ, त्यसबाहेक कतै रकम उल्लेख छैन ।

न आवधिक योजनासँग, न मध्यमकालीन खर्च संरचनासँग मिलेको छ । त्यसैले बजेटमा हाम्रो विरोध छ । सवारी कर बढाएको भन्ने छ । जसले कर तिरेको छ, फेरी उसैलाई कर थप्ने ? की यता पनि केन्द्रमा जस्तै कुनै सुब्बाहरूको चलखेल छ ? नयाँ दायरा खोज्नु पर्दैन ? यसरी सरकार र संसद अगाडि बढ्न सक्दैन । गम्भीर होऔं ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!