गाउँपालिकाद्वारा कृषकलाई दूधमा अनुदान

Posted on: 18 Jan, 2022

माघ ४, कास्की | कास्कीको माछापुच्छे गाउँपालिकाले कृषकलाई उत्पादनका आधारमा दूधमा प्रतिलिटर ५० पैसा अनुदान दिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्दा वास्तविक कृषकसम्म सरकारको सहयोग पुग्ने भएकाले सो कार्यक्रम अघि सारिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षमा २५ लाख लिटर दूधमा अनुदान दिनका लागि रु १२ लाख ५० हजार विनियोजन गरेको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाभित्र रहेका छवटा दुग्ध उत्पादक सहकारी संस्थामार्फत सो अनुदान सम्बन्धित कृषकसम्म पुग्नेछ । उहाँले भन्नुभयो, “कृषकले उत्पादन गरेर सहकारीमा बिक्री गरेका आधारमा दूधमा अनुदान पाउनेछन् । जसले धेरै उत्पादन गर्न सक्छ, उसैले बढी अनुदान पाउनेछ ।”

अनुदान वितरण गर्नका लागि सहकारी संस्थाबाट प्रस्ताव आह्वान गरेको र छनोट गरिएकाले वितरण तत्कालै सुरु गरिने पौडेलले बताउनुभयो । सहकारी संस्थाबाहेक आफैँ बजार खोजेर दूध बिक्री गर्ने कृषकले भने गाउँपालिकाले दिने सो अनुदान पाउने छैनन् । सहकारीमा बिक्रीका आधारमा मात्र अनुदान दिने नीति गाउँपालिकाको छ । शाखा प्रमुख पौडेलले भन्नुभयो, “सहकारीमा बिक्री गरेको रेकर्डका आधारमा चौमासिकरूपमा अनुदान कृषकलाई उपलब्ध गराउने छौँ ।”

उत्पादनका आधारमा अनुदान दिँदा कृषकलाई पेशाप्रति हौसला बढ्ने र थप उत्पादनमा केन्द्रित हुने हुँदा व्यावसायिक उत्पादनको विकास हुने विश्वास गाउँपालिकाको छ । माछापुच्छ«े गाउँपालिका जिल्लामै दूध उत्पादनमा अग्रणी स्थानमा छ । नौ वडा रहेकामा यहाँका अधिकांश वडामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको बताइन्छ ।

मुख्यगरी वडा नं ३ घाचोक, वडा नं ४ लाहाचोक र वडा नं ६ को धितालमा दूध उत्पादन बढी हुने गरेको छ । गाउँपालिकामा सहकारीमार्फत दैनिक छ हजार लिटर दूध बिक्री हुने शाखाको तथ्याङ्क छ । यसैगरी निजी फार्मको पाँच हजार गरी दैनिक ११ हजार लिटर दूध बिक्री हुने गरेको बताइन्छ ।  हालसम्म  गाउँपालिकामा २८० कृषि र पशु फार्म दर्ता छन् ।

गाउँपालिकाले चालु आव पशु सेवातर्फ यान्त्रिकीकरण कार्यक्रममा ५० प्रतिशत लागत साझेदारीमा घाँस काट्ने मेसिन कृषकलाई उपलब्ध गराउने भएको छ । यसका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको छ । यसैगरी पशु रोग नियन्त्रण र स्वास्थ्य शिविर तथा औषधि खरिद गरी कृषकलाई निःशुल्क वितरण गर्न रु १० लाख बजेटबाट औषधि खरिद प्रक्रिया सुरु भएको गाउँपालिकाले जनाएको छ । यसै वर्षमा गाईको बाँझोपन निवारणका लागि शिविर सञ्चालन गर्ने योजना रहेको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!