पोखरामा घर भाडामा लिएर चिनियाँको अवैध गतिविधि

Posted on: 01 Jul, 2022

असार १७, पोखरा | पोखरा महानगरपालिका–१७, ड्यामसाइटमा घर भाडामा लिएर चिनियाँ नागरिकले अवैध गतिविधि गरेको देखिएको छ ।


जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी रमेश थापाका अनुसार चिनियाँ नागरिकको संलग्नतामा अवैध काम भइरहेको आधारमा प्रहरीले बिहीबार चिनियाँ नागरिकले चलाएको कम्पनीमा छापा हानेको थियो ।

नेपाली नागरिक ककनी, नुवाकोटका सुमन तामाङको नाममा दर्ता रहेको डायमन्ड टेक्नोलोजी नामक कम्पनीमार्फत उनीहरुले अवैध गतिविधि गरिरहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी सुन्दर तिवारीका अनुसार उनीहरुले एकजना व्यक्तिको पूरै घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका थिए । ७५ नेपाली युवालाई रोजगारी दिने प्रलोभनमा चिनियाँ नागरिकले त्यहाँ भेला गराएका थिए ।

‘उनीहरुले त्यहाँ के गरिरहेका थिए भन्ने विषयमा विस्तृत अनुसन्धान हुन्छ’ डीएसपी तिवारीले भने, ‘अहिले धेरैजनामाथि अनुसन्धान र छानविन गर्नुपर्ने भएकाले विस्तृत अनुसन्धानपछि मात्रै विस्तृतमा बताउन सकिन्छ ।’

हाललाई प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन चिनियाँ र अर्का नेपाली नागरिक छन् ।

‘दुई चिनियाँको कागजपत्र देखिएको छैन, त्यसैले अध्यागमन कानून अनुसार पनि उनीहरु कारबाहीको भागीदार छन्’ तिवारीले भने, ‘अन्यको हकमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ कार्यालयबाट ४७ लाख ९७ हजार रुपैयाँ पनि बरामद भएको छ, जसको उनीहरुले स्रोत खुलाउन सकेका छैनन् ।

‘त्यो रकमको स्रोतबारे पनि अनुसन्धान हुन्छ’ तिवारी भन्छन् । कार्यालयमार्फत साइबर अपराध जोडिएका गतिविधि भइरहेको प्रहरीको आशंका छ ।

नेपालमा बसेर चिनियाँ नागरिकले साइबर अपराध र ठगीजन्य गतिविधि गरिरहेको सूचना प्रहरीलाई छ । नेपालस्थित चिनियाँ दूतावासले दिएको सूचनाको आधारमा प्रहरीले ७ पुस २०७७ मा अपरेशन चलाएर काठमाडौं उपत्यकाबाट १२२ जना चिनियाँलाई पक्राउ गरेको थियो ।

त्यतिवेला दिइएको सूचनामा काठमाडौं बाहेक पोखरा, विराटनगर, चितवनसहितका शहरमा गरी करिब ४ हजार चिनियाँ नागरिकले नेपालमा बसेर चीनविरुद्ध अवैध गतिविधि गरिरहेको भनिएको थियो । यद्यपि, त्यतिवेला ठगीका गिरोहका मुख्य सदस्यहरुलाई नेपाल प्रहरीले भगाएको आरोपमा चिनियाँ पक्ष असन्तुष्ट भएको थियो ।

काठमाडौं उपत्यकाबाहिर प्रहरीले यस्ता गतिविधिमा संलग्न चिनियाँविरुद्ध हालसम्म अपरेशन चलाएको थिएन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!