युवतीलाई जबरजस्ती गाडीमा राखी बलात्कार गरेको आरोपमा ८ जना पक्राउ, एक जना फरार

Posted on: 06 Sep, 2022

भदौ २०, कास्की | सामूहिक बलात्कारको आरोपमा कास्की प्रहरीले ९ जनाविरुद्ध जबरजस्ती करणी (बलात्कार) को मुद्दा दर्ता गरेको छ । भदौ १७ गते जिल्ला अदालत कास्कीमा जबरजस्ती करणीको मुद्दा दर्ता गर्दै सात दिनको म्याद थप गरेको हो ।

बलात्कारको आरोपमा ८ जनालाई पक्राउ गरिएको छ भने, आरोपित एक जना फरार छन्। आरोपित उनको पनि खोजी कार्य भइरहेको छ। पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका अमृत ठकुरी, सन्तोष दवाडी, साजन दवाडी, राजीव बीसी, सन्जीव शाही, अनूप अधिकारी, रामेश्वर धिताल र सन्जीत नेपाली रहेका छन् ।

यस्तै फरार हुनेमा लमजुङका ईश्वर श्रेष्ठ रहेका छन् । प्रहरीका अनुसार घटना भदौ १३ गते रातिको हो । १३ गते दिउँसो पीडित २६ वर्षीया युवतीलाई पोखराको शान्तिनगरबाट जबरजस्ती गाडीमा राखी घाचोक लगेको तिमिल्सिनाले बताए । ‘युवती हराएको भनेर हामीलाई १४ गते बेलुका खबर आयो‚’ उनले भने, ‘पीडित हामीसँग १५ गते सम्पर्कमा आइन् । कहाँ गएको भनेर सोधपुछ गर्दा आफूलाई ९ जनाको समूहले जबरजस्ती गाडीमा राखेर घाचोक लगेको र सामूहिक रुपमा पटकपटक बलात्कार गरेको बताइन् । पीडितको बयानका आधारमा पीडकलाई १६ गते बेलुका पक्राउ गरी १७ गते मुद्दा दर्ता गरेका छौं ।’ प्रहरीले अनूप अधिकारीको नाममा रहेको बाग्मती प्रदेश ०१–०२६ च ९२१० नम्बरको गाडीसमेत नियन्त्रण गरी जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।

बलात्कारका यी आरोपीहरू पेशाले कामदार र ठेकेदार हुन् । घाचोकको बंगुर फार्ममा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडकले पीडित युवतीले आफूलाई जहाँ गएर जे गर्छेस् गर्, पुलिसकोमा गएर भने पनि भन भन्दै धम्की दिएको बताएकी छन् । -ईकान्तिपुरबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!