यती एअरको 'डेमो फ्लाइट' कै दिन पाइलट केसीले भनेका थिए : रनवे छोटो छ, डाँडाले पनि 'डिस्टर्ब' हुन्छ

Posted on: 16 Jan, 2023

माघ २, पोखरा | पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको हर्षमा थियो पोखरा। जनवरी १ देखि सञ्चालनमा आउने विमानस्थलको डेमो फ्लाइट गरेका थिए पाइलट कमल केसीले। पुसको ७ गते पोखरा आन्तरिक विमानस्थलदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो फ्लाइट उडाएका थिए कमलले। आइतबार दुर्घटनामा परेको जहाज सोही दिन कमलले उडाएका थिए।


डेमो फ्लाइट सफलतापूर्वक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै कमलले पोखराका डाँडाले बाधा पुर्‍याउने प्रतिक्रिया दिएका थिए।

उनले भनेका थिए -  अन्तर्राष्ट्रिय विमानस्थलमा त्यति डाँडाकाँडा हुँदैन। पोखरा वरपर डाँडाकाँडा छ। अरू एअरपोर्ट हेर्दा यहाँ अलिकति गाह्रो छ। रनवेको लम्बाइ यहाँको छोटो छ। यहाँको ८ हजार जति फिट छ। बाहिर १० हजार जति हुन्छ। वरपरको डाँडाले गर्दा डिस्टर्ब छ। अलिकति गाह्रो छ यहाँ।'

पोखराको उडान अरुभन्दा गाह्रो हुने बताएका कमल पोखराको सेती खोंचमा अस्ताएका छन्। आइतबार बिहान दुर्घटना भएको यती एअरलाइन्सको फ्लाइट उनै कमलले उडाएका थिए। दुर्घटनामा पर्नुअघि सोही विमानमा काठमाडौं-पोखराको सफल अवतरण गराएका थिए उनले। तर, अर्कोपटक कमलले सफल अवतरण गराउन सकेनन्। यतीको एटीआर ७२ विमान सेतीको खोंचमा खस्यो। ७२ जना रहेको विमान दुर्घटनाको समाचार पनि एकाएक फैलियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!