नेप्सेमा पहिरो, ५३ अङ्ककाे गिरावट

Posted on: 08 Dec, 2021

मंसिर २२, काठमाडौँ | सेयर बजार निरन्तर ओरालाे लागिरहेकाे छ। निरन्तर घट्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि ५३ अंकले घटेको छ । साताको आइतबार ७२ अंकले घटेको नेप्से परिसूचक सोमबार ३२ अंकले सुधारिएको थियो । तर, नेप्सेको टिकाउ मंगलबारसम्म पनि टिकेन र ३७ अंकले घट्यो ।

यससँगै यो साता कारोबार भएको चार दिनमध्ये एकदिन मात्रै बजार बढेको छ । बाँकी तीन दिन बजार निरन्तर ठूलो अंकले घट्दै छ । आज ५३ अंकले घटेसँगै नेप्से परिसूचक २४ सय ५५ अंकमा आइपुगेको छ । यसक्रममा आज २ अर्ब ६६ करोड रुपैयाँ बराबरको ६५ लाख कित्ता सेयर किनबेच भएको छ ।

बजार ५३ अंकले घटेको दिन सबै समूह राताम्मे बनेका छन् । निर्जीवन बीमा कम्पनी समूह सबैभन्दा बढी २३५ अंकले घटेको छ भने जीवन बीमा समूह २९४ अंकले घटेको छ । यस्तै, उत्पादनमूलक समूह १७०, विकास बैंक १५१, लघुवित्त १२५ र व्यापार समूहमा ९९ अंकको गिरावट आएको छ ।

बजार घटेको दिन आज नेप्सेमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ८.५४ प्रतिशतले घटेको छ । यससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०९ रुपैयाँले घटेर ११ सय ६८ अंकमा आइपुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!