धेरै झुट आयो, अब सत्य सार्वजनिक गर्छु : रोनाल्डो

Posted on: 17 Aug, 2022

एजेन्सी | म्यानचेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो विषयमा धेरै झुटा समाचार पढेपछि भविष्यको बारेमा सत्य सार्वजनिक गर्ने बताएका छन् ।

पोर्चुगलका ३७ वर्षीय स्टारले युनाइटेड छाड्न चाहे पनि नयाँ प्रशिक्षक एरिक टेन हागले रोनाल्डो बिक्रीका लागि नरहेको बताएका थिए । तर पछिल्लो घटनाक्रमपछि युनाइटेडले रोनाल्डोलाई १ सेप्टेम्वरमा ट्रान्सफर विन्डो बन्द हुनुअघि नै क्लब छाड्न दिन सक्ने बीबीसीले जनाएको छ ।


तर रोनाल्डोले केही दिनपछि आफ्नो अन्तर्वाताबाट उनीहरुले सत्य थाहा पाउने बताएका छन् । ‘उनीहरुले केही हप्तापछि अन्तर्वार्ताबाट सत्य थाहा पाउनेछन्,’ रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन्, ‘मिडियाले झुटो बताइरहेका छन् । म सँग पछिल्ला एक सय समाचार नोटबुकमा छन् जसमा पाँच वटा मात्र सही छन् । सोच्नुस यो कस्तो होला ।’

एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमिओनीले उनलाई अनुबन्ध गर्न इच्छुक रहेको भन्ने एक समर्थकको पोष्टमा लाइक गर्दै रोनाल्डोले कमेन्ट गरेका हुन् । रोनाल्डोका पूर्व टिममेट ग्यारी नेभिलले विश्वकै उत्कृष्ट खेलाडीलाई सत्य भन्न किन दुई साता कुर्नुपर्ने भनेर प्रश्न गरेका छन् ।

युनाइटेडमा रोनाल्डोको अझै एक वर्ष सम्झौता बाँकी छ । उनी एक वर्षअघि युभेन्ट्सबाट युनाइटेड पुगेका थिए ।

रोनाल्डोलाई अनुबन्ध गरेपनि युनाइटेड प्रिमियर लिगको शीर्ष चारमा रहन सकेन र च्याम्पियन्स लिगमा छनोट हुन सकेन । यस सिजन युनाइटेड लिगको सुरुवाती दुई खेलमा पराजित भइसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!