कसरी आविष्कार भएको थियो डिजिटल क्यामेरा ?

Posted on: 18 Sep, 2022

असोज २, काठमाडौँ | आजभोलि क्यामेरा मानिसका लागि अभिन्न साधन बनेको छ । जीवनका महत्त्वपूर्ण पलहरु कैद गर्नेदेखि अनेकौं व्यावसायिक काममा यसको प्रयोग निर्विकल्प बनेको छ ।

डिजिटल क्यामेराको आविष्कारले त क्यामेराको परम्परागत अवधारणा नै फेरिदिएको छ । यति उपयोगी र लोकप्रिय प्रविधि आखिर कसले आविष्कार गरेको होला ?

स्टिभ सेसन एक इलेक्ट्रिक इन्जिनियर हुन्, जसले कोडकका लागि काम गर्ने क्रममा डिजिटल क्यामेराको आविष्कार गरेका थिए ।

कोडक त्यस्तो अमेरिकन कम्पनी हो, जसले २०औं शताब्दीमा फोटोग्राफिक फिल्म र पेपर बिक्री गरेर आफ्नो अस्तित्वको साम्राज्य खडा गरेको थियो ।

सेसनले तयार पारेको डिजिटल क्यामेराको भविष्य फोटोग्राफीमा नभएको भन्दै कोडकले डिजिटल क्यामेरा निर्माण गरेर बिक्री गर्ने प्रस्ताव अस्वीकार गरेको घटना विभिन्न समाचारमा पढ्न पाइन्छ ।

अहिले त्यही कम्पनी परम्परागत फोटोग्राफीसँग सम्बन्धित महँगा प्रविधिलाई प्रयोग गरेर विद्युतीय गाडीका लागि ब्याट्री निर्माण गर्ने काम गरिरहेको छ ।

सन् १९५० मा जन्मिएका सेसनले जुन १९७३ मा अपस्टेट न्यूयोर्कस्थित रेन्ससेलर पोलिटेक्निक इन्टिच्युटबाट मास्टर डिग्री उत्तीर्ण गरेका थिए । उनले सोही वर्ष त्यसबेला अमेरिकाको प्रख्यात फोटोग्राफी सामाग्री निर्माता कम्पनी कोडकमा जागिर पाएका थिए ।


त्यसअघि कोडकले कहिल्यै इलेक्ट्रिक इन्जिनियरलाई जागिरमा राखेको थिएन । उक्त कम्पनीमा क्यामेराका लागि आवश्यक विभिन्न सामग्रीका लागि विशेषगरी केमिकल तथा मेकानिकल इन्जिनियरले जागिर पाउने गर्थे ।

किनभने त्यसबेला फोटो प्रोसेसिङका लागि यी दुई किसिमका इन्जिनियरको मात्र ठूलो भूमिका रहेको थियो । कोडकमा कार्यरत केमिकल तथा मेकानिक इन्जिनियरले होलसेल बिक्रीका लागि एक्सपोजर कन्ट्रोल तथा फ्लाश कन्ट्रोलजस्ता सामाग्री तयार पार्नु पर्ने हुन्थ्यो । यी विविध कामका लागि कम्पनीलाई इलेक्ट्रिक इन्जिनियरको अभाव खड्किरहेको थियो ।

सेसन भन्छन्, “मैंले कोडकमा अन्तर्वार्ता दिंदा त्यहाँको विभिन्न ठाउँमा जानु परेको थियो । उहाँहरूले मेरो सबैभन्दा बढी रुचि के कुरामा छ भनेर सोध्नुभयो । मैले रिसर्च ल्याबमा छ भन्ने उत्तर दिएँ ।“

त्यसपछि उनलाई कम्पनीले उक्त क्षेत्र (विद्युतीय क्षेत्र) मा भोगिरहेका समस्या र चुनौतीको समाधान निकाल्न भनियो । त्यसबेला आफूले मेकानिकल इन्जिनियर, भौतिकशास्त्री, गणितिज्ञसँग काम गर्ने अवसर पाएकाले त्यसैलाई करियरका रूपमा अगाडि बढाउने सोचेको बताउँछन् ।

सीसीडी (चार्ज कपल्ड डिभाइस) सेन्सरसँगको काम

कम्पनीको निर्देशन अनुसार सेसनले रिसर्च ल्याबरेटोरीमा काम गर्न थाले । उक्त ल्याबमा उनी विभिन्न उपकरणको प्रयोग गरेर खोज तथा अनुसन्धान गर्न पाउँथे । यसले गर्दा उनलाई विभिन्न उपकरणले कसरी काम गर्छन् र तिनै उपकरणमा भएका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुराको आइडिया मिल्यो । एकदिन सेसनका बोसले उनका लागि एउटा कामको प्रस्ताव ल्याए ।

“मैले काम गरिरहेको बेला उहाँ मेरो सामु आएर दुई ओटा कामको प्रस्ताव राख्नुभयो,“ सेसन भन्छन्, “उहाँले भन्नुभयो, दुई ओटा काममध्ये एउटा काम गर्नुपर्ने हुन्छ । एउटा भनेको एक्सएल क्यामेराका लागि एक्सपोजर कन्ट्रोलको मोडेल तयार पार्ने वा अर्को भनेको यो चार्ज जोडिएको डिभाइस (चार्ज कपल्ड डिभाइस) ले कसरी काम गर्छ भन्ने कुरा जान्ने । हामी यसलाई प्रयोग गरेर के गर्न सक्छौँ । वा यसले कसरी काम गर्छ भन्ने कुरा जान्न म उत्सुक छु । म इलेक्ट्रोनिक्स गु्रपमा इलेक्ट्रोनिक्स इन्जिनियरका रूपमा कार्यरत थिएँ । त्यो डिभाइस हाम्रा लागि एकदमै नयाँ थियो । हामीले त्यस्ता डिभाइसमा त्यसभन्दा पहिले कहिल्यै काम गरेका थिएनौँ । मलाई दुई ओटा डाइमेन्सन भएको एक्सपोजर सर्फेसमा काम गर्नुपर्ने थियो । तर, सबै विद्युतीय तरिकाबाट ।“  वास्तवमा उनलाई चार्ज जोडिएको डिभाइसमा काम गर्न इच्छा थियो ।

आविष्कारका लागि दुई वर्ष

सेसन सीसीडी सेन्सरमा निरन्तर काम गर्न थाले । जुन डिजिटल क्यामेराका लागि एक महत्वपूर्ण भाग थियो ।

“मैले एक्सएल मुभी क्यामेरा निर्माण गर्ने ठाउँबाट प्रयोग भइसकेको लेन्स चोरेको थिएँ,“ सेसन भन्छन्, “किनभने सीसीडीको सक्रिय भागभन्दा उक्त लेन्स ठूलो थियो । जसले गर्दा म त्यसलाई एक्सएल मुभी क्यामेराको फिल्म प्लेनमा राखेर एसेम्बल गर्न सक्थें । त्यति गरे मात्र सीसीडीले काम गर्ने कुरामा म ढुक्क थिएँ ।“

उक्त क्यामेरामा एउटा मात्र इलेक्ट्रोनिक सटर थियो । जसको सटर स्पीड १/२० सेकेन्डको थियो । त्यसको अगाडिको भागमा निकै संवेदनशिल इन्फ्रारेड (आईआर) ब्लकिङ फिल्टर रहेको थियो । तर त्यसको लाइटनिङमा समस्या थियो ।

सेसनले टेपमा विविध उपकरण जोडेर क्यामेराको नमुना तयार पारे । उनले त्यसमा तस्वीर रेकर्ड गर्नका लागि मेमोरी कार्ड तयार पार्ने सोचेका थिए । जुन १९७५ डेसेम्बरमा सम्पन्न भयो ।

त्यसपछि सेसनको डिजिटल क्यामेरा तयार भयो । उनले यो काम सम्पन्न गर्न दुई वर्षको समय लगाए ।

डिजिटल क्यामेरा आविष्कार गरिसकेपछि सेसनको मनमा भिन्नै किसिमको उत्साह थियो । तर, यो आविष्कार कोडकको व्यवस्थापन समितिलाई त्यति आकर्षक लागेन । यो फोटोग्राफीको भविष्य हो भन्नेबारे कसैले पनि सोच्न नसकेको उनी बताउँछन् ।

प्रमाणित नभएको प्रविधिमा खर्च गरेर कोडक आफ्नो फिल्म फोटोग्राफीको व्यापारलाई जोखिममा राख्न चाहँदैनथ्यो । त्यसैले सेसनको डिजिटल क्यामेरालाई कोडकले आफ्नो व्यापारमा जोड्न चाहिरहेको थिएन ।

आफूले काम गरिरहेको कम्पनीले आफूले तयार पारेको डिजिटल क्यामेरा स्वीकार नगरेपछि सेसनलाई चिन्ता हुन थाल्यो । त्यसपछि ठूलो आकारको डिजिटल टेप क्यामेरा लिएर सेसन फोटो खिच्न जान्थे ।

कोठामा कसैलाई उक्त कुराको जानकारी नदिएर उनी फोटो खिच्थे । त्यसपछि डिजिटल विवरण भण्डारण भएको टेप लग्थे र त्यसलाई टिभीको प्लेब्याक युनिटमा राख्थे । टेलिभिजन हेर्नेहरूले स्क्रिनमा आफ्नो देख्थे । यो कुराले उनीप्रति सबैको ध्यान गयो ।

“यसले कसरी काम गर्छ भनेर मलाई कसैले सोध्दैनथ्यो,“ उनी भन्छन्, “उनीहरू त केवल परम्परागत क्यामेरामा फोटो खिच्न कुनै समस्या नहुँदा यो तरिकाले को फोटो खिच्न चाहन्छ भनेर सोध्थे ।“

उनलाई कसैले पनि क्यामेरा तयार पार्न भनेको थिएन । उनी क्यामेरा विकास गरिरहकेका छन् भन्ने कुरा त कसैलाई थाहा थिएन ।

उनले यो क्यामेरालाई लिएर धेरै मानिसहरूसँग छलफल गरे । तर, प्रायः विषयहरू उक्त क्यामेरा फोटोग्राफीका लागि कत्तिको उपयुक्त छ भन्ने कुरामा केन्द्रित हुने गर्थे ।

आफ्नो कम्पनी लगायत अन्य विभिन्न संस्थाले उनको आविष्कारमाथि प्रश्न उठाए पनि सेसनले कहिल्यै हार मानेनन् । उनलाई आफूले आविष्कार गरेको प्रविधि कुनै दिन फोटोग्राफीका लागि अपरिहार्य बन्छ भन्ने कुराको विश्वास थियो ।

सेसनले उक्त क्यामेरा मुभी क्यामेराको लेन्स, मोटोरोलाका केही महत्त्वपूर्ण भाग, १६ ओटा ब्याट्री र सीसीची इलेक्ट्रोनिक सेन्सरको प्रयोग गरेर तयार पारेका थिए ।

उक्त क्यामेराको आकार एउटा मध्यम प्रिन्टरको आकार जति थियो भने तौल करिब चार किलोको थियो । क्यामेराले ब्ल्याक एण्ड ह्वाइट फोटो खिच्थ्यो ।

सेसन र उनका साथी उक्त क्यामेराले खिचेका फोटो हेर्नका लागि छुट्टै स्क्रिन तयार पारेका थिए । उक्त क्यामेराको रिजोलुसन ०.०१ मेगापिक्सेलको थियो । जसलाई एउटा डिजिटल फोटो खिच्नका लागि २३ सेकेन्ड लाग्थ्यो ।

एजेन्सीको सहयोगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!