खसीको मासु : जसले नखाएकै बेस

Posted on: 19 Sep, 2022

असोज ३, काठमाडौं | दशैंको तिथि नजिकिंदैछ । दशैंको खास परिकार हो खसीको पक्कु । त्यसो त हाम्रो भान्सामा खसीको अनेकथरी व्यञ्जन तयार हुन्छ ।

खसीको मासुमा पाइने प्रमुख पोषक तत्त्व भनेको प्रोटिन हो । त्यसको साथै खसीको मासुमा फ्याट पनि पाइन्छ । १०० ग्राम खसीको मासुमा १८.५ ग्राम र फ्याट १३.३ ग्राम पाइन्छ । दशैंमा मासुको साथै अन्य प्रोटिनयुक्त खानेकुरा पनि खाइने भएकाले दैनिक ८० देखि १०० ग्राम मासु त्यो पनि कम चिल्लो र कम मसला राखेर पकाएर खाइयो भने यसले शरीरलाई फाइदा गर्छ ।


कुन भाग बढी पोसिलो ?

बोसो नभएको भागको मासु बढी पोसिलो हुन्छ । पेटको भित्री अंगको मासुमा धेरै बोसो हुने भएकाले त्यस बाहेकका खुट्टा र टाउकोको भाग पोसिलो हुने गर्छ । पोसिलो हुन्छ भनेर दिनमा तीन पटक नै खुसीको मासु खान भने हुँदैन । मात्रा मिलाएर मासुलाई उसिनेर वा थोरै तेल मसला राखेर पकाएर खाइयो भने मासुमा भएको पोषक तत्त्व प्राप्त गर्न सकिन्छ ।

ताजा मासु कसरी चिन्ने ?

खसीको मासु ताजा हो कि होइन भनेर पत्ता लगाउन त्यसको रंगबाट पत्ता लगाउन सकिन्छ । मासु ताजा भए त्यसको रंग रातो हुन्छ । रंग परिवर्तन भएर कालो–कालो भएको छ भने त्यो मासु ताजा नहुन सक्छ ।

रोगी वा कमजोर खसीको मासु पत्ता लगाउन पनि रंग ध्यान दिनुपर्छ । मासुको कलर रातो कलर छ भने त्यो रोगी वा कमजोर खसीको होइन, कलर परिवर्तन भएर खैरो वा कालो भएको छ भने त्यो खान योग्य भएन । औंलाले छुँदा त्यो कसिलो छ भने त्यो फ्रेस हो । छुँदा कसिलो छैन फ्याल्ल परको छ भने त्यो अस्वस्थ्यकर हुन सक्छ । सुँघ्दा मासुबाट दुर्गन्ध आएको छ भने त्यो पनि खान योग्य मासु होइन ।

यसरी हेरेर, छोएर र सुँघेर तीन तरिकाले रोगी वा कमजोर खसीको मासु पत्ता लगाउन सकिन्छ ।

कस्ता समस्या भएकाले खान हुँदैन ?

दीर्घरोगीले सकेसम्म खसीको मासु खानु हुँदैन । खसीको मासुमा धेरै फ्याट र प्रोटिन हुन्छ, जसले शरीरमा एसिड र शरीरलाई नचाहिने कोलेस्टेरोलको मात्रा बढाउँछ ।

मधुमेह, कोलेस्टेरोल, युरिक एसिड, उच्च रक्तचाप, मिर्गौलाको समस्या, पायल्स र फिस्टुला जस्ता समस्या भएका व्यक्तिले खसीको मासु खानु हुँदैन । साथै मोटोपन भएका व्यक्तिले पनि खसीको मासु नखाँदा राम्रो हुन्छ । यसमा क्यालोरी बढी हुने भएकाले मोटोपन झन् बढ्न सक्छ ।

कतिपय रोगमा खसीको मासु खानै हुँदैन भनिन्छ, किनकि खसीको मासुले रोगको जटिलतालाई झन् बढाइदिन सक्छ । रातो मासुमा प्युरिनको मात्रा बढी हुन्छ । युरिक एसिडको बिरामीले खसीको मासु खायो भने प्युरिनको गर्दा शरीरमा एसिडको मात्रा बढ्छ र थप समस्या हुन सक्छ ।

मुटुको रोग र उच्च रक्तचापमा

उच्च रक्तचापको बिरामीले आफ्नो कोलेस्टेरोल एकदमै ठिक लेबलमा राख्नुपर्छ । रातो मासुमा बोसोको मात्रा बढी भएकाले कोलेस्टेरोलको मात्रा बढ्छ । कोलेस्टेरोलको लेबल ठिक ठाउँमा भएन भने रक्तनलीमा बोसो जमेर रक्तसञ्चार राम्ररी नहुन सक्छ ।

रक्तसञ्चार राम्ररी भएन भने मुटुलाई प्रेसर पर्छ । मुटुलाई प्रेसर धेरै भएपछि रक्तचाप पनि बढ्ने भयो, त्यसैले मुटुको रोग र उच्च रक्तचाप भएकाले खसीको मासु नखानु नै उचित हुन्छ ।

मधुमेह, कोलेस्टेरोल र युरिक एसिड भएकाले के गर्ने ?

मधुमेह, कोलेस्टेरोल र युरिक एसिडको समस्या भएकाले पनि खसीको मासु खानुहुँदैन । किनकि खसीको मासुमा प्रोटिन र बोसोको मात्रा धेरै हुन्छ । मासुमा भएको बोसो रक्तनलीमा जमेर रक्तसञ्चारलाई प्रभाव पार्न सक्छ । रक्तसञ्चार राम्ररी हुन पाएन भने मुटुलाई प्रेसर पर्छ । मुटुलाई प्रेसर धेरै भएपछि रक्तचाप पनि बढ्छ ।

खसीको मासुमा प्रोटिनको मात्रा धेरै हुन्छ, जसले गर्दा युरिक एसिडको बिरामीले पनि खानु हुँदैन । मिर्गौलाको काम प्रोटिनलाई छानेर शरीरलाई चाहिने र नचाहिने कुरा छुट्टाउने पनि हो । मिर्गौला फेल भएका व्यक्तिको मिर्गौलाले प्रोटिन छान्न नसक्ने भएकाले दैनिक सीमित मात्रामा मात्र प्रोटिन खानुपर्छ । त्यसैले मिर्गौलाको बिरामीले पनि खसीको मासु खानु हुँदैन ।

पायल्स फिस्टुलाको बिरामीले कब्जियत गराउने खानेकुरा खानु हुँदैन । खसीको मासुमा बोसो र प्रोटिन बढी भएकाले गर्दा यसले कब्जियत भएर दिसा गर्न समस्या हुन सक्छ । त्यसैले पायल्सको बिरामीलाई पनि मासु नखाने नै सल्लाह दिइन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!