अनलाइन श्रम स्वीकृति कति प्रभावकारी ?

Posted on: 22 Jan, 2022

माघ ८, काठमाडौँ | वैदेशिक रोजगार कार्यालय, काठमाडौँका कार्यालय प्रमुख रमेश अर्यालले हालै शुरू गरेको अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको बताएका छन् । दैनिक एक हजारको हाराहारीमा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति भएको अर्यालले जानकारी दिए । 

कोरोना संक्रमण जोखिमको अवस्थामा अनलाइन श्रम प्रभावकारी भएको जानकारी दिँदै अर्यालले यसअघि एक हजार बढी सेवाग्राहीको भौतिक उपस्थितिमा सेवा प्रवाह गर्दा विभिन्न गुनासो आउने गरेको र कर्मचारीले समेत रातीसम्म काम गर्नुपर्ने बाध्यता अहिले हटेको बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ञकिसानझले श्रम स्वीकृतिलाई पेपरलेस बनाउन निर्देशन दिएसँगै छिटो, छरितो र पारदर्शी र गुनासो रहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृतिको काम सुरू भएको थियो । अनलाइनमा कागजातहरू जाँच गर्न समय लाग्ने तथा कहिलेकाही इन्टरनेट सर्भरको समस्या हुनसक्ने भएकोले तीन दिन अगाडि अनलाइन फाराम भर्न कार्यालयले भनेको छ । 

अनलाइन प्रणालीमा समय बढी लाग्ने र खर्चिलो हुने तथा इपासपोर्टसँग म्याचिङ नहुने भनि अफवाह फैलाइएको भन्दै कार्यालयले सेवाग्राहीले विवरण सही भरेमा सोही दिन नै श्रम स्वीकृति दिने गरिएको जनाएको छ । पुनः श्रम स्वीकृतिको लागि म्यादी जीवन बिमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । म्यादी जीवन वीमाको शुल्क उमेरअनुसार हुने र वैदेशिक रोजगार कल्याणकारी कोषको लागि एक हजार पाँच सय रूपैयाँ शुल्क लाग्ने कार्यालयका सूचना अधिकारी हरिराम नागिलाले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!