भोलिदेखि भिजिट भिसामा विदेश जान अनिश्चितकालिन रोक, कुन-कुन देश जान पाइंदैन ?

Posted on: 23 Jan, 2022

माघ ९, काठमाडौँ ।रोजगारको प्रलोभनमा भिजिट भिसामार्फत विशेष गरि युएई सहित खाडी तथा मलेसिया पुगेर नेपालीहरु अलपत्र पर्ने गरेका छन् । यसरी विदेश जाँदा एयरपोर्टका कर्मचारीहरुको सेटिङ चल्ने कुरा निरन्तर आईरहेकै बेला कोरोना महामारीको कारण देखाई नेपाल सरकारले सोमबारदेखि भिजिट भिसामा जान रोक लगाउंदै छ । 

गृह मन्त्रालयबाट जारी बिज्ञप्ति अनुसार 'अर्काे निर्णय नभएसम्मका लागि' १० माघदेखि लागू हुने गरी मलेसिया र खाडीका सात मुलुकलगायत १८ देशमा भिजिट भिसामा जान रोक लगाउने निर्णय हो । यो निर्णय भिजिट भिसामा रोजगारको प्रलोभन देखाई विदेश पठाउनेहरु र एयरपोर्टमा सेटिङको धन्दा गर्दै आएका कर्मचारीको टाउको दुखाई बनेको छ । तर अत्यावश्यक कामले ती देश जानेहरु भने प्रभावित हुने भएका छन् । 

गृह मन्त्रालयका अधिकारीहरुले भने भिजिट भिसामा काम गर्न जाने प्रवृत्ति रोक्न यस्तो निर्णय गरेको जनाएका छन् । भिजिट भिसामा गएर अलपत्र परेको तथा उद्दार गरिदिन भन्दै सरकारलाई गुहार गर्नेहरुको संख्या बढेको अवस्थामा सरकारले भिजिट भिसा बन्द गराउनु परेको बाध्यता बताएको छ । 

वैदेशिक रोजगारको प्रलोभनमा विदेश जाने क्रममा सबैभन्दा बढी युएई गएर अलपत्र पर्नेहरु धेरै छन् । यस गिरोहमा केहि मेनपावरहरुनै संलग्न रहेको जानकारी प्राप्त भएको छ । अध्यागमन विभागले दिएको तथ्यांकअनुसार भिजिट भिसामा गएकाहरु मध्ये कयौं नेपालीहरु समयमै नेपाल फिर्ता भएका छैनन् । उनीहरु भिजिटमा गई उतै बसेको अध्यागमनको अनुमान छ । त्यसो त एजेन्टहरुले विदेश ल्याई अलपत्र पारेको भन्दै धेरै युवाहरुले हार गुहार गरेको समाचारहरुले पनि नेपालीहरु घुम्न वा व्यवसायकै शिलशिलामा मात्र भिजिटमा जान्छन् भन्ने छैन । 

सरकारको निर्णयअनुसार मलेसिया, खाडीका इराक, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, ओमान, कुवेत, कतार र बहराइन तथा खाडीनजिकका एसियाली राष्ट्र साइप्रस, इजिप्ट, इरान, इजरायल, जोर्डन, लेबनान, प्यालेस्टाइन, सिरिया, टर्की, यमनमा अब भिजिट भिसामा नेपाली जान पाउने छैनन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!