मलेसिया जाने युवाहरुलाई शून्य लागतमा लैजान र आधारभूत तलब बढाउन मलेसियासँग आग्रह

Posted on: 29 Apr, 2022

वैशाख १६, काठमाडौँ । मलेसियाको भ्रमणको क्रममा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र मलेसियाका मानव संसाधनमन्त्री दातुक सेरी एम सराभननसँग भेटवार्ता भएको छ । 


भेटवार्तामा नेपाल र मलेसियाबीच ऐतिहासिक रुपमा रहेको भातृत्वपूर्ण सम्बन्धलाई नेपाली युवाहरुको मलेसियाली श्रम बजारमा रहेको उपस्थितिले थप मजबुत बनाएको विषयमा दुवैपक्षबाट प्रसंशा भएको छ । भेटवार्तामा नेपाल र मलेसियावीच सन् २०१८ मा हस्ताक्षर भई हाल कार्यान्वयनमा रहेको द्विपक्षीय समझदारीपत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, मलेसियाको श्रमबजारको आवश्यकता बमोजिम नेपाली युवाहरुलाई सीपयुक्त बनाई थप रोजगारीका अवसरहरु प्रदान गर्ने, रोजगारीको लागि युवाहरुको छनौट तथा नियुक्तिलाई शुन्य लागत (Zero Cost) सहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने, मलेसियामा रोजगारीमा रहेका नेपाली नागरिकहरुको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सवलीकरण गर्ने, चौबिसै घण्टा प्रभावकारी हुने बिमा सुविधाको व्यवस्था गर्ने विषयमा वृहत छलफल भएको छ । साथै उक्त भेटवार्तामा नेपाली श्रमिकहरुलाई आफ्ना अधिकार र आफुले पालना गर्नुपर्ने शर्तहरुको विषयमा मलेसिया प्रवेश गर्नुअघि नै सचेत गराई कामको सिलसिलामा कुनै समस्या आइपरे तुरुन्त गुनासो गर्ने र प्राप्त गुनासाहरुको समयमै सम्बोधन गर्ने व्यवस्था मिलाउने लगायतका विषयमा छलफल भएको छ ।

मन्त्री श्रेष्ठले मलेसियाको निजी सुरक्षा गार्डको रूपमा नेपाली युवालाई अवसर दिएकामा कृतज्ञता ज्ञापन गर्दै उनीहरूको आधारभूत तलब बढाउन, स्वास्थ्य उपचारमा विशेष ध्यान दिन, सामाजिक सुरक्षा र कल्याणका क्षेत्रमा सुविधा वृद्धि गर्न आग्रह गरेका थिए । 

छलफलमा नेपाल र मलेसियाबीच कायम रहेको श्रम सम्बन्धी संयुक्त कार्यदलको तेस्रो बैठक छिटै नै काठमाण्डौमा गर्ने र बैठकमा छलफल भएका विषयहरुलाई औपचारिकता दिने विषयमा समेत सहमति भयो। नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय श्री कृष्णकुमार श्रेष्ठज्यूले आमन्त्रण गर्नुभए अनुसार मलेसियाका मानव संसाधन मन्त्रीज्यूले छिटै नै नेपाल भ्रमण गर्नुहुने भएको छ । 

भ्रमणको क्रममा रहेको श्रममन्त्री लगायतको प्रतिनिधिमण्डलले मलेसिया स्थित सामाजिक सुरक्षा संस्था (SOCSO) को समेत भ्रमण गरेका छन् । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले आग्रह गरे बमोजिम सामाजिक सुरक्षा संस्थाका प्रमुख कार्यकारी अधिकृतले सन् २०२३ को जनवरीदेखि लागुहुने गरी २४ सै घण्टा प्रभावकारी हुने गरी बिमा सुविधाको व्यवस्था गर्ने प्रक्रिया अघि वढाउने प्रतिवद्धता जनाएका छन् । 

भ्रमणकै सिसलिलामा मन्त्री श्रेष्ठले नेपाली राजदूतावासको निरीक्षण भ्रमण समेत गरेका छन् । मन्त्री श्रेष्ठले राजदूतावासबाट हुने सेवा प्रवाहको सम्बन्धमा जानकारी लिदै त्यहाँ कार्यरत नेपाली श्रमिकहरुको स्थितिको बारेमा समेत जानकारी लिएका छन् । उनले विदेशमा रहेका सम्पूर्ण नेपालीहरुको सामाजिक सुरक्षालाई सुनिश्चित गर्नको लागि नेपाली श्रमिकहरुको श्रम स्वीकृति नवीकरण गर्ने प्रक्रियालाई तत्काल थप सरलीकरण गर्ने जानकारी गराए । मलेसियामा रहेका नेपाली नागरिकहरुलाई  राजदूतावासबाट भइरहेको सेवा प्रवाहको प्रसंशा गर्दै निरन्तर सुधारको लागि मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् । 

मलेसियामा भ्रमणको क्रममा रहेको प्रतिनिधिमंडलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव श्री एकनारायण अर्याल, सहसचिव श्री राजीव पोखरेल र उपसचिव डा. थानेश्वर भुसाल रहेका छन् । यसैगरी द्विपक्षीय वैठकमा नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्री मोतिबहादुर श्रीस र श्रम काउन्सेलर श्री दीपक ढकालले समेत भाग लिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!