क्रोएसिया पठाईदिन्छु भनी ठगी गरेर सम्पर्कबिहीन व्यक्ति पक्राउ, ऐनमा के छ सजायको व्यवस्था ?

Posted on: 09 Jun, 2022

जेठ २५, काठमाडौँ । क्रोएसिया पठाईदिने भन्दै ठगिमा संलग्न भई सम्पर्क बिहिन भएका एक जना व्यक्ति पक्राउ परेका छन् ।  बैदेशिक रोजगारको प्रलोभन एक युवासँग रकम अशुली गरेर सम्पर्क बिहिन भएको आरोपमा मोरङ जिल्ला बिराटनगर २० घर भएका उत्सव दाहाल पक्राउ परेका हुन् । 

पीडित युवाले ३६ बर्षीय दाहालबाट आफू ठगिमा परेको भन्दै वैदेशिक रोजगार बिभाग समक्ष उजुरी दिएका थिए । सोहि उजुरीको आधारमा प्रहरीले काठमाडौँ बस्दै आएका ३६ बर्षिय दाहाललाई पक्राउ गरेको जनाएको छ । ठगीमा संलग्न दाहालले पीडितसँग बैदेशिक रोजगारको लागि क्रोएसिया पठाई दिन्छु भनी दुई लाख अग्रिम अशुली गरेर सम्पर्क विहीन भएका थिए । प्रहरीले ठगीमा संलग्न दाहाललाई बिहिबार पक्राउ गरि थप कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाएको छ । दाहाललाई प्रहरीले बालाजु १६, माछापोखरीबाट पक्राउ गरेको जानकारी दिएको छ ।


ऐनमा के छ सजायको व्यवस्था ? 

वैदेशिक रोजगार ऐन २०६४ अनुसार वैदेशिक रोजगारमा पठाउने अनुमति नपाएका व्यक्ति तथा इजजात नपाएका कुनैपनि संस्थालाई वैदेशिक रोजगार ऐनको दफा ४३ बमोजम कारवाही हुन्छ । यो ऐनमा इजाजत नलिई वैदेशिक रोजगारमा पठाउने काम गरेमा वा प्रलोभन देखाई आर्थिक रकम लिएको देखिएमा कारवाही हुने उल्लेख छ । यो दफा अनुसार सजाय गर्दा पीडितबाट अशुली भएको जति रकम हो त्यो रकम सँगै जति रकम लिएको हो त्यसमा थप ५० प्रतिशत हुन आउने रकम समेत पिडितलाई फिर्ता गर्नुपर्ने नियम छ । यस्तो अवस्थामा पिडितलाई विदेश समेत पठाई सकेको भए जान-आउनको समेत खर्च ठगीमा संलग्नलाईनै भराउन लगाई तीन देखि पाँच लाखसम्म जरिवाना र तीन बर्षदेखि ७ बर्षसम्मको कैद सजाय हुने उल्लेख छ । यदी विदेश नपठाएको भए त्यसको आधा सजाय हुने ऐनमा उल्लेख छ । 

वैदेशिक रोजगार ऐनको यो व्यवस्थाले कन्सल्टेन्सी तथा कुनैपनि व्यक्तिलाई वैदेशिक रोजगारमा पठाउन अनुमति दिएको छैन । यदी पठाएको प्रमाणित भएमा कारवाही हुन्छ । यस्तो किसिमको समस्या भएमा पीडितले प्रमाण सहित वैदेशिक रोजगार बिभागमा गई उजुरी दिन सक्ने प्रावधान छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!