साउदीमा एक्जिट भिसा मिलाई दिन्छु भनी तपाईँसँग कसैले पैसा मागेको त छैन ?

Posted on: 24 Jun, 2022

असार १०, काठमाडौं | तपाईँ साउदी अरबमा हुनुहुन्छ र कसैले एक्जिट भिसा मिलाइदिन्छु वा सेटिङ गरेर नेपाल पठाइदिन्छु भन्दै पैसा मागेको त छैन ? 

यदि यसरी पैसा मागेको भए नदिनु होला । दिनुभयो भने बुझ्नुहोस्– तपाई ठगिनुभयो । 

एक्जिट भिसा मिलाईदिने वहानमा धेरै नेपाली ठगिएपछि साउदी अरबको रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी यस्ता व्यत्तिलाई पैसा नबुझाउन अनुरोध गरेको छ । 

‘एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ । यस बापत एक हलाला पनि कहीं कतै बुझाउनु पर्दैन । यदी कुनै व्यक्तिले तपाईँलाई एक्जिट भिसा मिलाई दिन्छु, दूतावासमा मैले चिनेका मान्छे छन्, यति पैसा लाग्छ भन्छ वा भनेको छ भने त्यस्ता व्यक्तिको पछि कदापि नलाग्नु होला,’ दूतावासले विज्ञप्तिमा भनेको छ । 

यसैगरी कुनै दलालले सेटिङ गरेर नेपाल पठाइदिन्छु, साउदी जवातलको मान्छे र पुलिसलाई चिनेको छु भन्यो भने पनि यस्ता व्यक्तिको पछि नलाग्न दूतावासले अनुरोध गरेको छ । यस्ता व्यक्तिको पछि लागेमा ठगिने दूतावासले जनाएको छ । 

‘यदि कोही कसैले यस्तो कुरा गर्दैछ भने त्यस्तो व्यक्तिको बारेमा साउदी प्रहरीमा– ९११ नम्बरमा तुरून्तै खबर गर्नुहोला,’ दूतावासले भनेको छ । 

साउदीमा रहेको नेपाली दूतावास र महावाणिज्य दूतावासले समस्यामा परेका नेपालीको लागि आवश्यक पर्ने एक्जिट भिसा झिकाउने काम गर्ने विज्ञप्तिमा उल्लेख छ । यसको लागि कुनै शुल्क नलाग्ने पनि दूतावासले स्पष्ट पारेको छ । 

‘एक्जिट भिसा प्रोसेसिङ पूर्ण निःशुल्क हो । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ । 

जुन ठाउँबाट आफ्नो इकाममा बनेको छ त्यही ठाउँको श्रम कार्यालय र अध्यागमन कार्यालयमा मात्र एक्जिट भिसाको लागि प्रोसेसिङ गर्नुपर्ने व्यवस्था साउदी सरकारले गरेको दूतावासले जनाएको छ । 

‘तसर्थ, एक्जिट भिसा प्रोसेसिङको लागि दूतावासमा आउनुभन्दा पहिले आफ्नो इकामा कहाँबाट बनेको हो अनिवार्य रूपमा यकिन गर्नुहुन अनुरोध छ,’ विज्ञिप्तिमा भनिएको छ । 

कुनै कारणले साउदीमा अवैध रुपमा बसोबास गरेका आप्रवासी कामदार स्वदेश फर्कनु परे एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैन । यस्तो एक्जिट भिसा सम्बन्धीत देशको दूतावासको अनुरोधमा साउदी सरकारले उपलब्ध गराउने गर्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!