थप केयरगिभर लैजान इजरायल सकारात्मक, पुरानो निर्देशिका बाधक

Posted on: 04 Nov, 2022

कात्तिक १८, काठमाडौं | ‘लक्की ड्र’ बाट छनौटमा नपरेका नेपाली केयरगिभर लैजान इजरायल सकारात्मक देखिएको छ । इजरायलले एक हजार १९ जना नेपाली सहायक कामदार लगिसकेको छ  भने ९० जना जति जान बाँकी रहेका छन् । कामदार छनौटको अन्तिम चरणबाट बाहिरिएका ४२५ जनालाई लैजान इजरायल सकारात्मक देखिएको हो । यसका लागि नेपाल र इजरायली अधिकारीहरूबीच छलफल भइरहेको छ । छलफलको क्रममा नेपालले उक्त कुरालाई प्रमुखताका साथ उठान गरेको थियो ।


अन्तर्वाताबाट छनौटमा परेका १६०० जनाको नाम लक्की ड्र का लागि इजरायललाई पठाएको थियो । तीमध्ये ११७५ जना लक्की ड्र मार्फत छनौटमा परेका थिए । यस्तै ४२५ जना बाहिरिएका थिए । इजरायली अधिकारीहरू सकारात्मक देखिएको र आवश्यक गृहकार्य अघि बढिसकेको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए ।

‘लिखित परीक्षा, स्वास्थ्य परीक्षण, मौखिक परीक्षा सबै पास गरेर लक्की ड्र मार्फत अन्तिममा फालिएका थिए । उनीहरू सबै कुरामा अब्बल हुँदा हुँदै पनि जान नपाउनु भनेको दुखद् कुरा हो,’ महानिर्देशक आचार्यले भने, ‘त्यसैले हामीले उनीहरूलाई पनि लैजान अनुरोध गरेका थियौं । इजरायली अधिकारीहरू सकारात्मक देखिएका छन् । इजरायलले हुन्छ भन्यो भने जान पाउनेछन् ।’

असोजमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी र इजरायली अधिकारीहरूबीच छलफल भएको थियो । इजरायलको जनसंख्या तथा अध्यागमन अथोरिटी (पिवा) की निर्देशक सेर्ली राइसिन, मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसाल, वैदेशिक रोजगार विभागका निर्देशक डम्बर सुनुवार र नेपालस्थित इजरायली राजदूत हनान गोदरबीच छलफल भएको थियो ।

सोही क्रममा उनीहरूले कृषि क्षेत्रमा कामदार लैजान तयार रहेको बताएका थिए । र त्यसका लागि प्रक्रिया जति सक्दो चाँडो अगाडि बढाउन आग्रह गरेका थिए ।

नेपालले कृषि क्षेत्रसँगै ‘लक्की ड्र’ मार्फत छनौटमा नपरेका कामदारलाई पनि लैजान आग्रह गरेको थियो । उक्त छलफलपछि इजरायली अधिकारीहरूले जति सक्दो चाँडो सूचना निकालेर कामदार पठाउन आग्रह गरेका थिए ।

मन्त्रालयका सहायक प्रवक्ता डा. भुसालले कामदार पठाउने विषयमा इजरायल सकारात्मक रहेको र आन्तरिक गृहकार्य अघि बढेको बताए । ‘उनीहरूले जतिसक्दो चाँडो सूचना निकालिदिनुहोस्, हामीलाई अरू पनि मान्छे चाहिएको छ भन्ने कुरा गर्नुभएको छ । तर, हामीलाई अहिलेको निर्देशिका अनुसार काम गर्न सकिने अवस्था छैन्,’ उनले भने ।

उनीहरूलाई पठाउन अहिलेको निर्देशिका संशोधन गर्नुका साथै वेबसाइट पनि चेञ्ज गर्नुपर्ने उनको भनाइ छ । ‘अहिलेको निर्देशिबाट काम गर्न सकिँदैन। त्यो परिवर्तन गर्नुपर्नेछ । यसका लागि मन्त्रीस्तरीय सहमति नभइकन हुँदैन,’ भुसालले भने ।

इजरायलले परीक्षा दिएको एक वर्ष नाघिसकेको भन्दै उनीहरूलाई लैजान अनिच्छा जाहेर गरेको थियो । त्यसका लागि थप लैजाने कामदारमा उनीहरूलाई समावेश गराउन सकिने बताएको थियो । 

‘जाँच दिएको पनि एक वर्ष नाघिसक्यो । सिधै लैजानुभन्दा नयाँ प्रोसेसमा सहभागी गराउन सकिन्छ भन्नुभएको थियो । बरू कुनै छुट दिनुपरेमा दिउँला तर, अहिलेकै चरणमा उनीहरूलाई समावेश गर्न सक्दैनौं भन्ने कुरा गरेका थिए,’ डा. भुसालले भने ।

उनीहरूलाई अर्को चरणमा पठाइने कामदारसँगै मिसाएर पठाउने वा छुट्टै प्रक्रिया मार्फत लैजाने विषयमा सरकारले निर्णय गर्न सकेको छैन । ‘इलिजिवल क्याण्डिडेटहरूको स्किल टेष्ट गर्ने, र त्यही आधारमा अगाडि बढ्ने भन्ने कुरा भएको छ । त्यो गर्दा पनि विविध समस्या देखिन्छन् । अब यो सबै चुनावपछि मात्रै हुन्छ,’ डा. भुसालले भने ।

बाँकी प्रक्रिया अगाडि बढाउँदै गरेपनि मन्त्रालयले विभागलाई वेबसाइट परिवर्तन गर्न भनेको छ । ‘गत वर्षको सफ्टवेयर पोर्टल छ त्यसलाई चेन्ज गर्नुपर्नेछ, अहिले त्यसलाई परिवर्तन गर्नुहोस् भनेका छौं । मन्त्रालयले निर्देशिका संशोधन गर्ने काम पनि अघि बढाएको छ । सबै काम सकिएपछि चुनावपछि काम अघि बढ्छ,’ भुसालले भने । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!