मलेसियन गृहमन्त्रीको गुनासो : नेपाली श्रमिक लैजाने प्रक्रिया झन्झटिलो भयो

Posted on: 03 Feb, 2023

माघ २०, काठमाडौँ | नेपाली श्रमिक लैजाने प्रक्रिया झन्झटिलो भएको मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले बताएका छन्। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भएको भेटवार्तामा गृहमन्त्री सैफुद्दिनले अन्य देशको तुलनामा नेपालबाट श्रमिक लैजाने प्रक्रिया झन्झटिलो रहेको बताएका हुन्। श्रम मन्त्री अर्यालले यसविषयमा आफूहरुले पनि सोचिरहेको र परिमार्जन गरेर जतिसक्दो छिटो पठाउने गरी प्रक्रिया मिलाउने बताए। 


मलेसियाका कम्पनीले कामदार माग गरेको महिनौंपछि मात्रै श्रमिक पुग्ने गरेको गुनासो गरेका छन्। नेपालबाट श्रमिक लैजान मागपत्र दूतावासमा प्रमाणिकरण गराउनुपर्छ। त्यसपछि पुनः स्वीकृति लिएर श्रमिक छनौटको प्रक्रिया अगाडी बढाउने व्यवस्था छ। त्यसका लागि ७ दिने सूचना पनि प्रकाशित गर्नुपर्ने व्यवस्था छ। स्वास्थ्य परीक्षण लगायतका सबै प्रक्रिया पूरा गरेपछि अन्तिम स्वीकृति लिनुपर्छ।

नेपालका सरकारी निकायले भटाभट काम गरे पनि डेढ महिना लाग्ने वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए। नेपाल र मलेसियाबीच भएको दुई पक्षीय श्रम सम्झौता अक्टोबरमा सकिँदैछ। त्यसको नविकरण गर्दा समय सापक्ष बनाउने सहमती भएको छ। यसका लागि दुई देशका अधिकारीहरु सम्मिलित प्राविधिक समितिले गृह कार्य गर्नेछ। श्रम मन्त्री अर्यालले भलेसियन गृहमन्त्रीसँग त्यहाँका नागरिक सरह नेपालीलाई पनि व्यवहार गर्न तथा सेवासुविधा दिन आग्रह गरेका छन्। 

गृहमन्त्री सैफुद्दिनले मलेसियाले २०२४ भित्रमा ५ लाख श्रमिक लैजाने लक्ष्य रहेको बताएका छन्। त्यसमा नेपालीलाई प्राथमिकतामा राख्न श्रममन्त्री अर्यालले आग्रह गरेका छन्। यस्तै दुई देशबीच तालिमप्राप्त श्रमिक पठाउने विषयमा पनि छलफल भएको छ। गृहमन्त्री सैफुद्धिनले शुक्रबारै अपरान्ह ४ बजे  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!