‘प्रेमगीत ३’लाई कर छुट दिन चलचित्रकर्मी महासंघको आग्रह

Posted on: 19 Sep, 2022

असोज ३, काठमाडौं |  ‘प्रेमगीत ३’लाई कर छुट दिन र नेपाली फिल्मसरह सेवासुविधा दिन नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले सरकारलाई आग्रह गरेको छ । अध्यक्ष अरुणकुमार प्रधान र महासचिव दिनेश कोइरालाले विज्ञप्ति जारी गर्दै विवादलाई त्यागेर सबै पक्ष सँगै बसेर फिल्म हेर्न समेत आग्रह गरेको छ । ‘प्रेमगीत ३’लाई लिएर भुवन केसी नेतृत्वको चलचित्र विकास बोर्डले उल्झन खडा गरेको भन्ने विवाद चलिरहँदा महासंघको प्रदेश १ ले यस्तो आग्रह गरेको हो ।

राधा, प्रकाश, ऐना झ्यालको पुतलीजस्ता फिल्मलाई पनि विभेद गरिएको भन्दै महासंघले यस्ता विभेदविरुद्ध एकजुट भएर बोल्न समेत आग्रह गरेको छ । सबै चलचित्रकर्मीले टिकट काटेर फिल्म हेर्ने बानी बसाल्न समेत महासंघले आग्रह गरेको छ । ‘प्रेमगीत ३’ र चलचित्र विकास बोर्डबीच विवाद चर्कंदै जाँदा अभिनेता प्रदीप खड्काले अध्यक्ष भुवन केसीको राजीनामा मागेका थिए । उनले सार्वजनिक रुपमै यस्तो भनेपछि विवाद थप पेचिलो बनेको छ ।

खड्काले राजीनामा मागेपछि उत्पन्न विवादपछि आइतबार चलचित्र विकास बोर्डको बैठक बसेको थियो । ‘प्रेमगीत ३’ शुक्रबारदेखि नेपाल र भारतसहितका मुलुकमा प्रदर्शन हुँदैछ । नेपालमा अहिलेसम्म हिन्दी संस्करण सेन्सर भइसकेको छैन । भारत प्रिमियरका लागि निर्देशक र कलाकारहरु यतिबेला मुम्बईमा पुगेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!