टेकु अस्पातालमा अब इमर्जेन्सी सेवा निःशूल्क

Posted on: 03 Dec, 2021

मंसिर १७, काठमाडौं | स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको विशेष निर्देशन पछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमरजेन्सी सेवा निःशुल्क हुने भएको छ । नेपालको संविधानमा स्वास्थ्यको हकलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गर्न लागिएको हो ।

कोरोना भाइरसको तेस्रो लहरले हुनसक्ने सम्भावित जोखिमसमेतलाई मध्यनजर गर्दै जनताको स्वास्थ्यको हक सुनिश्चित गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले १९ मंसिरदेखि यो व्यवस्था लागू गर्न लागेको हो । अस्पतालकाे निर्देशककाे रूपमा डा. मनिषा रावलले जिम्मेवारी सम्हालेसँगै मन्त्री खतिवडाको विशेष चासो र निर्देशनपछि यो व्यवस्था गर्न लागिएको हो ।

अस्पतालका तर्फबाट निर्देशक डा. रावलले मंसिर १५ गते नै पत्र लेखेर अवगत गराइसकेका छन् । सो अस्पतालमा इमरजेन्सी विभागमा आएका विरामीहरूको पछिल्लो २४ घन्टाभित्र हुने परीक्षण र उपचार शुल्कदेखि टिकटसम्म सबै निःशुल्क हुने व्यवस्था गरिएको हो ।

निःशुल्कअन्तर्गत रगत परीक्षण, एक्सरे, इसीजी, टिकटलगायतका सुविधा र २४ घन्टाभित्रको परीक्षण सुविधा र लाग्ने औषधीसमेत रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!