धेरै प्रतिशत खोप लगाउने दक्षिण एशियाको मुलुकमा नेपाल पनि

Posted on: 27 Jan, 2022

माघ १३, काठमाडौँ | सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसंख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । 

आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ भने ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन् । 

हाल सबै प्रदेशमा कोभिसिल्ड÷एस्ट्राजेनेका र सिनोफार्मका पहिलो तथा दोस्रो मात्रा खोप लगाइरहेको छ भने ५७ जिल्लामा मोडर्ना खोपको पहिलो मात्रा खोप दिइरहेको छ । 

प्रदेश १ मा हालसम्म १८ वर्षमाथिका ७५ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाइसकेका छन् भने ६० प्रतिशतले पूर्णमात्रा खोप प्राप्त गरेका छन् । 

यस्तै मधेस प्रदेशमा ६१ प्रतिशतले पहिलो मात्रा लगाउँदा ५३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। यसैगरी, बागमती प्रदेशमा ८६ प्रतिशतले पहिलो मात्रा तथा ८० प्रतिशतले पूर्णमात्रा, गण्डकी प्रदेशमा ८३ प्रतिशतले पहिलो मात्रा तथा ७९ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । 

लुम्बिनी प्रदेशमा ७५ प्रतिशतले पहिलो मात्रा र ६५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने कर्णाली प्रदेशमा ५७ प्रतिशतले पहिलो मात्रा खोप प्राप्त गर्दा ५५ प्रतिशतले पूर्ण मात्रा र सुदूरपश्चिम प्रदेशमा ६४ प्रतिशतले पहिलो मात्रा खोप लगाउँदा ६२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही माघ ११ गतेसम्म कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउने संख्या एक करोड ३१ लाख छ हजार ७२६ पुगेको छ । हालसम्म दुई लाख २३ हजार ९४४ जनाले बुस्टर डोज लगाइसकेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!