निर्वाचन प्रक्रिया सुरु:समानूपातिकतर्फको बन्दसूची आज र भोली पेश बुझाइने

Posted on: 19 Sep, 2022

असोज ३, काठमाडौं | आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरुले आज निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची पेस गर्दैछन्। 

 निर्वाचन आयोगले आज र भोली समानूपातिक तर्फको बन्दसूची पेश गर्ने तालिका तय गरेता पनि अधिकांश दलहरुले आज मात्रै आयोगमा बन्दी सूची बुझाउने तयारी गरेका छन्। 

निर्वाचन कार्यक्रम अनुसार असोज ४ देखि ९ गतेसम्म आयोगले दलहरुले बुझाएको बन्दसूची छानबिन गरी आवश्यकताअनुसार सच्याउन दलहरुलाई सूचित गर्ने, १० देखि १६ गतेसम्म उम्मेदवारहरुको बन्द सूची संशोधन गरी पेश गर्ने, १७ गते बन्द सूचीमा रहेका उम्मेदवारहरुले चाहेमा नाम फिर्ता लिने र दललाई जानकारी दिने तालिका छ। 

यस्तै असोज २० देखि २२ गतेसम्म नाम फिर्ता लिएर रिक्त भएको ठाउँमा अर्को नाम पेश गर्ने र २२ गते नै उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने निर्वाचन कार्यक्रम छ। 

राजनीतिक दलहरूले बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला उम्मेदवार हुनुपर्छ ।

आयोगले तयार गरेको कार्यतालिका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!