रवि लामिछाने सहित यी ४३ जना पहिलो पटक छिर्दैछन् संसद

Posted on: 25 Nov, 2022

मङ्सिर ९, काठमाडौँ | प्रतिनिधि सभामा हालसम्म सार्वजनिक परिणामअनुसार ४३ जना नयाँ अनुहार चयन भएका छन्। नेपाली कांग्रेसबाट १२ जना, एमालेबाट १०, राष्ट्रिय स्वतन्त्र पार्टीका ७, माओवादी र राप्रपाबाट,३-३ जना चयन भएका हुन्। यस्तै स्वतन्त्र उम्मेदवारी दिएकाहरूबाट ३ जना र जसपा र जनमत पार्टीका, १-१ गरी ४३ नयाँ अनुहार चयन भएका हुन्।

नेपाली कांग्रेसबाट निर्वाचित हुने नयाँ अनुहारमध्ये भक्तपुर २ का दुर्लभ थापा पनि हुन्। उनले २४ हजार २ सय ३८ मत ल्याएका छन्। झापा १ बाट निर्वाचित कांग्रेस महामन्त्री विश्वकप्रकाश शर्मा पनि पहिलो पटक संसदमा चयन भएका हुन्। उनी ३९ हजार ६ सय २४ मत सहित निर्वाचित भए। काठमाडौं ५ बाट प्रदीप पौडेल १५ हजार २ सय ३७ मत सहित विजयी भए। यता गोरखा १ मा ३३ हजार ४ सय २८ मतसहित निर्वाचित भएका राजेन्द्र बजगाईं पनि पहिलो पटक सांसद चयन भएका हुन्।  नवलपुर-२ मा ३६ हजार १ सय ४ मत ल्याएका विष्णुकुमार कार्की पनि नयाँ हुन्।


सिन्धुली १ बाट निर्वाचित श्यामकुमार घिमिरे पनि पहिलो पटक संसद छिर्ने लागेका छन्। उनले ३० हजार ३९१ मत ल्याए। यस्तै सप्तरी ३ मा २६ हजार १ सय ६६ मत ल्याएर निर्वाचित भएका दिनेशकुमार यादव पनि नयाँ अनुहार हुन्। दैलेख २ का दिक्पालकुमार शाहले २० हजार १ सय ५८ मत ल्याएर संसदको पहिलो यात्रा सुनश्चित गरे। अछाम २ मा पुष्प शाह २३ हजार ५४ मत ल्याएर पहिलो पकट सांसदमा चयन भएका छन्। मुस्ताङका योगेश गौचन थकाली कांग्रेसका सबैभन्दा कान्छा सांसद बन्ने भएका छन्। उनी ३ हजार ९९२ मत सहित निर्वाचित भएका हुन्। यता काठमाडौं ३ बाट पहिलो पटक सांसद चयन भएका सन्तोष चालिसेले १४ हजार ३ सय ५८ मत ल्याए।

नेकपा एमालेबाट १० जना नयाँ अनुहार चयन भएका छन्। तीमध्ये मकवानपुर २ बाट ३४ हजार ९१६ मतसहित निर्वाचिन हुने महेश बर्तौला, कञ्चनपुर १ बाट २० हजार ९ सय ६९ मत ल्याएर निर्वाचित हुने तारा लामा तामाङ छन्। यस्तै, कास्की ३ बाट २२ हजार ९ सय ८० मतसहित निर्वाचित दामोदर पौडेल पनि पहिलो पटक सांसद बनेका हुन्। एमालेबाट पहिलो पटक सांसद बन्ने सूचीमा बाँके १ का सूर्यप्रसाद ढकाल पनि छन्। उनले २५ हजार २६ मत ल्याएका छन्। यता, सिराहा १ का रामशंकर यादव पनि पहिलो पटक सांसद चयन भएका हुन्। उनले २९ हजार ४ सय ४२ मत ल्याएका छन्।

एमालेका नयाँ अनुहारमा सोलुखुम्बुबाट १९ हजार ३ सय २४ मत ल्याएर निर्वाचित हुने मानवीर राई पनि छन्। यस्तै, रूपन्देही-५ बाट ३६ हजार ८८२ मत ल्याएर निर्वाचित बासुदेव घिमिरे पनि पहिलो पटक सांसद बनेका हुन्। प्युठानबाट ४१ हजार १८ मत ल्याएर सूर्य थापा पहिलो पटक सांसद बनेका छन् भने पर्सा ३ का राजकुमार गुप्ता २४ हजार २ सय ६० मतसहित पहिलो पटक सांसद चयन भएका छन्। यो सूचीमा ललितपुर-२ का प्रेमलाल महर्जन पनि छन्। उनले १५ हजार २५ मत ल्याएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सात जना पहिलो पटक संसदमा आएका हुन्। सभापति रवि लामिछाने चितवन २ बाट ४९२६४ मतसहित निर्वाचित भए। यस्तै, चितवन १ बाट निर्वाचित हरि ढकालले ३४ हजार १ सय ८९ मत ल्याए भने काठमाडौं २ बाट सोविता गौतम १५ हजार २२९ मतसहित निर्वाचित भइन्।

यता, काठमाडौं ६ बाट शिशिर खनाल १४ हजार २०४ मत ल्याएर पहिलो पटक सांसद बने भने काठमाडौं ७ बाट ८ हजार ७ सय ४३ मत ल्याउने गणेश पराजुली पनि यो सूचीमा छन्। यस्तै काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ १० हजार १०५ मत ल्याएर निर्वाचित हुँदै पहिलो पटक संसद छिर्दैछन्। यता ललितपुर-३ की तोसिमा कार्की पनि यो सूचीमा अटाएकी छिन्। कार्की ३१ हजार १ सय ३६ मतसहित निर्वाचित भएकी हुन्। 

माओवादी केन्द्रबाट पहिलो पटक सांसद बन्ने सूचीमा सिन्धुली-२ का लेखनाथ दाहाल छन्। उनी २७ हजार ५ सय १७ मतसहित निर्वाचित भएका हुन्। यस्तै सिन्धुपाल्चोक १ बाट ३० हजार ३ सय ४७ मत ल्याएका माधव सापकोटा पनि पहिलो पटक संसद छिर्ने व्यक्ति हुन्। यता, १२ हजार २ सय ६२ मत सहित निर्वाचित भएका पूर्णबहादुर घर्तीमगर पनि माओवादी केन्द्रबाट पहिलोपटक प्रतिनिधि सभामा चयन भएका व्यक्ति हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि तीन जना पहिलोपटक प्रतिनिधि सभामा चयन भएका छन्। बाँके-२ बाट २९ हजार ५ सय ७७ मतसहित निर्वाचित धवलशमशेर राणा, ३४ हजार ९ सय ५९ मतसहित नवलपुर २ बाट निर्वाचित ध्रुव प्रधान पहिलो पटक सांसद चयन भएका हुन्। यो सूचीमा मकवानपुर-१ का दीपककुमार सिंह पनि छन्। उनले २७ हजार ८ सय १६ मत ल्याए।

नागरिक उन्मुक्ति पार्टीबाट २ जना पहिलो पटक संसद प्रवेश गर्दैछन्। कैलालीका १ र ३ बाट दुई जना निर्वाचित भएका छन्। कैलाली १ बाट ३० हजार १ सय ४ सहित रञ्जिता श्रेष्ठ निर्वाचित भइन् भने कैलाली-३ बाट गंगाराम चौधरी २३ हजार १ सय २० मतसहित सांसद चयन भए।

जनमत पार्टीका अध्यक्ष सिके राउन सप्तरी २ बाट निर्वाचित भएर पहिलो पटक संसद प्रवेश गर्दैछन्। उनले ३५ हजार ४२ मत ल्याए। यस्तै, सर्लाही १ मा जनता समाजवादी पार्टीबाट २४ हजार ८ सय ३८ मत सहित निर्वाचित रामप्रकाश चौधरी पनि प्रतिनिधि सभाका नयाँ अनुहार हुन्।

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित तीन जना पनि पहिलो पटक सांसद भएका छन्। बर्दिया-२ का लालवीर चौधरी २६ हजार ५ सय २० मत सहित पहिलो पटक निर्वाचित भएका हुन्। यता, रौतहट-२ का कुमार साह पनि ३२ हजार ८ सय ४३ मत सहित सांसद बने। यस्तै, २१ हजार ८ सय २० सहित मोरङ ५ बाट निर्वाचित योगेन्द्र मण्डल पनि पहिलो पटक सांसद बनेका हुन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!