जनताको पक्षमा एकपक्षीय भएर लाग्छौँ : अध्यक्ष लामिछाने

Posted on: 25 Nov, 2022

मंसिर ९, काठमाडौं | एजेन्सी | राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताउनुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ निर्वाचित प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले देशहित, नागरिक र जनजीविकाका लागिसँगै अघि बढ्ने बताउनुभयो । समाजलाई टेवा दिने र मुलुकवासीका लागि काम गर्ने आफ्नो उद्देश्य हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी निर्वाचित सांसद फरक फरक पार्टीको भए पनि एउटै कित्तामा छौँ ।” जनजीविकाको मुद्दामा एकै ठाउँमा उभिएर सहकार्य गर्न आफू तयार रहेको उहाँले बताउनुभयो ।

निर्वाचनमा आफ्नो पार्टीले कसैसँगै गठबन्धन नगरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “देश हितका लागि, नागरिकका लागि आवश्यक चिजमा गठबन्धन आवश्यक परे खुलेर साथमा हुनेछौँ ।” कार्यक्रममा चितवन क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवाल र २(२) बाट निर्वाचित उत्तम जोशीले देश तथा जनताको पक्षमा आफूहरु निरन्तर लाग्ने बताउनुभयो ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले प्रमाणपत्र वितरण गर्दै निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!