कोटेश्वरमा टिपरको ठक्करबाट लिम्बूको मृत्यु

Posted on: 19 Jan, 2022

माघ ५, काठमाडौँ | काठमाडौँको कोटेश्वरमा मंगलबारराति तिब्र गतिमा रहेको मोटरसाइकल टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। मृत्यु हुनेमा २७ वर्षीय प्रकाश लिम्बु रहेका छन्। मोरङ पथरी घर भएका उनी भक्तपुर सल्लाघारी बस्दै आएका थिए।

मंगलबार राति ११ बजे तीनकुनेबाट कोटेश्वर जाँदै गरेको प्रदेश-३-०२६प १८२४ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो। ना १ क ४५०२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा लिम्बु सख्त घाइते भएका थिए।

उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार काभ्रेपलाञ्चोकको नमोबुद्ध घर भएका ३१ वर्षीय देव लामाको सोही अस्पतालमा उपचार भइरहेको छ।

मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर कीर्तिपुरको सुन्दरीघाटबाट समातिएको उनले बताए। चालकसहित टिपरलाई प्रहरीले बुधबार बिहान नियन्त्रणमा लिएको मैनालीले बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!