सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति, कुनै पनि बेला पक्राउ गर्न सक्ने

Posted on: 08 Sep, 2022

भदौ २३, काठमाडौँ | राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

एक किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले पक्राउ पुर्जीको लागि जिल्ला अदालत काठमाडौंमा माग गरेको थियो। अदालतले आज लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। 

अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ ।

 अहिले भने लामिछाने लिग क्रिकेट खेल्न क्यारेबियन राष्ट्र सेन्ट लुसियामा छन्। नेपाल क्रिकेट संघसँगको कुराकानीमा सन्दीपले भने आफ्नो बचाउ गर्दै कानुनी सहायता माग गरेका थिए। यस्तै, लिग सकेपछि मात्रै नेपाल फर्कने जानकारी दिएका थिए।

सन्दीपको टिमले अझै एक महिना लिग क्रिकेट खेल्ने कार्यतालिका छ। पक्राउ पुर्जी जारी भएको अवस्थामा सन्दीप नेपाल नफर्किए प्रहरीले इन्टरपोलको सहारामा उनलाई पक्राउ गरेर नेपाल ल्याउन सक्छ। यस्तै, उनी आफै नेपाल फर्किए विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिन सक्नेछ।  नेपाल क्रिकेट संघ (क्यान)का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!