भोलीदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा दिने, बैंकहरुले लगे २ अर्ब

Posted on: 13 Sep, 2022

भदौ २८, काठमाडौँ |  नेपाल राष्ट्र बैंकले दसैं, तिहार र छठका लागि भोली (बुधबार)देखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण सुरु गरेको राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई पनि सटही सुविधा दिने तयारी गरेको हो ।


बैंक तथा वित्तीय संस्थाले हालसम्म २ अर्ब रुपैयाँ बराबर नयाँ नोट सटही गरिसकेको राष्ट्र बैंकले जनाएको छ । भदौ २९ गतेदेखि राष्ट्र बैंकका अलवा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले पनि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै छन् । गत वर्ष जस्तै यो वर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने बताइएको छ ।

यो ५ देखि १ सय रुपैयाँसम्मको एक÷एकवटा बन्डल हो । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले २ देखि ५ करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिनेछ । चालु आर्थिक वर्षभर नै राष्ट्र बैंकले आफ्ना कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत् नयाँ नोट वितरण गरिरहेको छ ।

यद्यपि दसैं, तिहार र छठका लागि सर्वसाधारणबाट नयाँ नोटको माग धेरै आउन थालेको छ । राष्ट्र बैंकसँग पर्याप्त नोट स्टकमा रहेको र नागरिकको माग पनि सम्बोधन गर्नुपर्ने भएकाले भदौ २९ गते देखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गरिने लागेको हो ।

नयाँ नोट वितरणमा यो वर्ष धेरै प्रचारप्रसार नगरिएको राष्ट्र बैंकले जनाएको छ । नगद कारोबारलाई निरुत्साहित गर्ने योजना अनुरुप नोटको प्रचलन कम गर्न प्रचार नगरिएको र आफै आउने नागरिकलाई भने तोकिएको सटही सुविधा प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!