विश्वकर्मा पूजा किन गरिन्छ ? यस्तो छ रहस्य

Posted on: 17 Sep, 2022

असोज १, काठमाडौँ | आज असोज  १ गते भगवान विश्वकर्माको जन्म दिन हो । हिन्दु संस्कृतिमा उनलाई यन्त्रको देवता मानिन्छ । उनले यन्त्रको प्रयोग गरी मानव समाजलाई भौतिक चरम सुखमा पुर्याउनका लागि विभिन्न कार्य गरेका थिए । प्राचीन समयमा स्वर्ग लोक, लंका, द्वारिका, हस्तिनापुर जस्ता स्थानका रचयिता भगवान विश्वकर्मा नै भएको बताइन्छ ।

यस दिन सबै कार्यस्थल, कारखाना, कम्पनी आदि बन्द गरेर सबै मेसिन र औजारहरुको पूजा गरिन्छ । भगवान विश्वकर्मा भगवान ब्रम्हदेवका पुत्र थिए र ईश्वर रहने सबै स्थानको निर्माण विश्वकर्माले गरेको मानिन्छ। 

विश्वकर्मा पूजाको दिन उनलाई सबैले सम्झिन्छन् । हिन्दु धर्ममा विश्वकर्मालाई निर्माण र सिर्जनाका देवता मानिन्छ ।

विश्वकर्मालाई देव शिल्पी विश्वकर्मा पनि भनिन्छ । उनको जन्म दिनलाई नेपाल मात्र नभएर भारत र अन्य हिन्दु धर्म मान्ने देशहरुमा विश्वकर्मा जयन्ती अथवा विश्वकर्मा पूजाको नामले पनि चिनिन्छ । देव शिल्पी विश्वकर्माले नै देवताहरुका लागि महल, अस्त्रशस्त्र, आभूषण आदि बनाउने काम गर्थे । त्यसैले उनी देवताका पनि आदरणीय थिए ।

के गरे विश्वकर्माले ?

इन्द्रको सर्बाधिक शक्तिशाली अस्त्र बज्रको निर्माण विश्वकर्माले नै गरेका थिए । सास्त्रका अनुसार भगवान विश्वकर्माले सृष्टिको रचना गर्न ब्रम्हालाई सहयोग गरे र संसारको रुपरेखाको नक्सा तयार गरेका थिए ।

के छ महत्व ?

देव शिल्पी भएकाले भगवान विश्वकर्मा मेसिनरी तथा शिल्प उद्योगसँग सम्बन्धित व्यक्तिहरुका लागि प्रमुख देवता मानिन्छन् । वर्तमान अवस्थामा कुनै पनि ब्यक्तिले विहानदेखि साँझसम्म कम्प्युटर, मोटरसाइकल, कार, पानी तान्ने मोटर,मिल अन्य बिजुलीका उपकरण आदि मेसिनरी उपकरणको प्रयोग गर्छन् । भगवान विश्वकर्मा यी सबै ब्यक्तिहरुका लागि देवता हुन् ।

यसै कारण वर्तमान युगमा विश्वकर्माको महत्व पनि दैनिक रुपमा बढिरहेको छ । पहिले शिल्पकारहरुले मात्र उनको पूजा गर्ने गरेकोमा हाल घर घरमा उनको पूजा हुन थालेको छ ।

विश्वकर्माको पूजा गर्ने हो भने मेसिनरी सामानले लामो समयसम्म आफूलाई साथ दिन्छ र आफूलाई धोका दिदैन भन्ने मान्यता छ । 

भगवान विश्वकर्माको जयन्ती वर्षाको अन्त्य र शरद ऋतु प्रारम्भ हुने बेलामा मनाउने गरिन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!