हिना जाहिदले जन्माइन् एक साथ ६ शिशु!

Posted on: 18 Sep, 2022

एजेन्सी । पाकिस्तानको कराचीमा एक महिलाले एकसाथ ६ वटा बच्चालाई जन्म दिएकी छन् । कराचीको कालापुलका स्थानीय हिना जाहिदले एक साथ चार छोरा र दुई छोरी गरी ६ बच्चालाई जन्म दिएकी हुन् । हिनाले जन्म दिएकी ६ जनामध्ये एक छोरीको भने जन्मनेवित्तिकै मृत्यु भएको छ ।


हिनाले जिन्ना पोस्टग्रेजुएट मेडिकल सेन्टरमा ६ जना बच्चालाई जन्म दिएकी हुन् । डाक्टरका अनुसार हिनाले ६ वटै बच्चालाई नर्मल डेलिभरीमार्फत् जन्म दिएकी हुन् । जन्मदा सबै बच्चाको स्वास्थ्य अवस्था नर्मल भएपनि एक छोरीको भने जन्मनेवित्तिकै मृत्यु भएको डाक्टरले जनाएको छ । जिन्ना पोष्टग्रेजुएट मेडिकलका निर्देशकले भनेका छन्, ‘जन्मिएका ६ वटा शिशुमध्ये एकको जन्मनेवित्तिकै मृत्यु भएको छ । उनी छोरी थिइन् । अब पाँच शिशुहरु छन्, जसमध्ये ४ छोरा र एक छोरी छन् ।’

अहिले सास फेर्न केही असहज भएको कारण उक्त पाँचै जना शिशुहरुलाई नेशनल इन्स्टिट्युट अफ चाइल्ड हेल्थमा शिफ्ट गरिएको छ । एकसाथ ६ वटा शिशुलाई जन्मदिने हिनाको पहिले नै एउटा बच्चा रहेको छ । यस अगाडि यसै वर्षको अगष्टमा पाकिस्तानको सिंधमा एक महिलाले ४ शिशुलाई जन्म दिएकी थिइन् । यसका साथै पाकिस्तानको एक प्राइभेट अस्पतालका प्रवक्ताका अनुसार अमरोत शरीफ नामकी एक महिलाले पनि एकसाथ ५ शिशुलाई जन्म दिएकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!