बेलायतका वैज्ञानिकले बनाए चाँडो कोभिड परीक्षण गर्ने एक्स-रे मेसिन

Posted on: 20 Jan, 2022

माघ ६, काठमाडौँ | बेलायतका वैज्ञानिकलाई एउटा महत्वपूर्ण सफलता मिलेको छ । उनीहरुले एक्स-रे मेसिनमार्फत कोभिड परीक्षण गर्न सकिने विधि विकास गरेका छन् ।

युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्याण्डका वैज्ञानिकहरूले एक्स-रेको प्रयोग गरी कोभिड परीक्षण गर्न सकिने विधि विकास गरेको डेली मेलले जनाएको छ । नयाँ आर्टिफिसिअल इन्टेलिजेन्स प्रोग्राम समेत भनिएको नयाँ परीक्षण विधिलाई सहजै पीसीआर उपलब्ध नभएको अवस्थामा प्रयोग गर्न सकिने छ ।

नयाँ परीक्षण विधिले पीसीआरभन्दा चाँडो भाइरस पत्ता लगाउन सक्ने समाचारमा उल्लेख छ । अर्थात् उक्त विधिमार्फत केही मिनेटमै कोभिड भए नभएको थाहा हुन्छ । त्यस्तै, यो विधि ९८ प्रतिशत सही रहेको पनि वैज्ञानिकहरूको भनाइ छ ।

‘कोभिड-१९ लाई चाँडो र भरपर्दो तरिकाले पहिचान गर्न सक्ने मेसिनको खाँचो देखिँदै आएको छ,’ अनुसन्धानको नेतृत्व गरेका प्राध्यापक नईम रमजानले भने, ‘ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि यस्तो आवश्यकता झन महसुस गरिएको छ ।’

नयाँ प्रविधिबाट चाँडै नै कोरोना भाइरस पत्ता लगाउन सकिने भएपनि संक्रमणको शुरुआती चरणमा एक्स-रे मेसिनले कोभिड-१९ का लक्षण नदेखाउने हुँदा पीसीआर परीक्षण पूर्ण रुपमा विस्थापित गर्न नसक्ने पनि रमजानको भनाइ छ ।

‘संक्रमणको प्रारम्भिक चरणमा एक्स-रेमा कोभिड-१९ का लक्षण देखिँदैनन्,’ उनले भने, ‘यही भएर यो प्रविधिले पीसीआर परीक्षणलाई पूर्ण रुपमा प्रतिस्थापन गर्न सक्दैन भनेर बुझ्नुपर्छ ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!