यौन दुर्व्यवहारको आरोप लागेका विश्व प्रसिद्ध ९ क्रिकेटर : कसैलाई सफाइ, कसैलाई सजाय

Posted on: 08 Sep, 2022

भदौ २३, काठमाडौँ | एजेन्सी | क्रिकेटमा यौनको विषय जोडिएर खेलाडी विवादमा आएका थुप्रै घटना छन् । कतिले सफाइ पाएका छन भने कतिले सजाय । यतिबेला राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोप लागेको छ । जाहेरी दर्ता भएसँगै सामाजिक सञ्जालमा अनेकौँ टिप्पणी भइरहेको छ । 

नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट जगतमा चिनाउन भूमिका खेलेका सन्दीपमाथि लागेको यो आरोपले धेरैलाई स्तब्ध बनाएको छ । नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको आरोप पुष्टि हुन्छ कि हुँदैन हेर्न बाँकी छ । तर, आरोप लगाउने किशोरी १७ वर्षकी मात्र भएकाले सन्दीप अप्ठेरोमा पर्ने देखिन्छ । नेपालको कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका महिलासँग सहमतिमै यौन सम्पर्क गरे पनि बलात्कार मानिन्छ । सन्दीपमाथि त किशोरीले मादकपदार्थ खुवाएर जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन् ।

विश्वमा प्रसिद्धि कमाएका थुप्रै क्रिकेटरले पनि यस्तै खालका आरोप व्यहोरेका छन् । कतिको पुष्टि भयो भने कतिको आरोपमै सीमित भयो ।


हार्दिक पाण्डेया

भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्डेयामाथि पनि बलात्कारको आरोप लागेको थियो । अहिले पनि टिममा सक्रिय हार्दिकमाथि रेहनुमा भाटीले बलात्कार र दुर्व्यवहारको आरोप लगाएकी थिइन्। हार्दिकले भारतको आईसीसी टी–ट्वान्टी विश्व कपमा प्रतिनिधित्व गरेपश्चात् आरोप लागेको थियो । तर, पछि यो घटना यत्तिकै सेलायो ।

मुनाफ पटेल

रेहनुमा भाटीले पाण्डेयासँगै भारतीय क्रिकेट टोलीका सदस्य मुनाफ पटेलमाथि पनि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । उनलाई मुनाफसँग एक होटलमा यौन सम्बन्ध राख्न दबाब दिइएको भाटीले खुलासा गरेकी थिइन । उत्कृष्ट पेस बलर मुनाफ अहिले क्रिकेटबाट टाढा छन् ।

शोएब अख्तर

सन् २००५ मा पाकिस्तानका स्टार खेलाडी शोएब अख्तरमाथि पनि बलात्कारको आरोप लाग्यो । पाकिस्तानी टोलीको अष्ट्रेलिया भ्रमणको दौरान घटना भएको भन्दै शोएबमाथि एक किशोरीले आरोप लगाइन । एक किशोरीसँग भएको असमझदारीका कारण अख्तरमाथि आरोप लागेको बताइयो । पछि छानबिन गर्दा किशोरीको आरोप झुटो भएको बताइयो ।

मखाया एन्टेनी

सन् १९९९ मा दक्षिण अफ्रिकाका स्पिड्स्टर एन्टेनीलाई पनि बलात्कारको आरोप लाग्यो । दक्षिण अफ्रिकाको पहिलो कालो जातिका क्रिकेटरको रूपमा प्रसिद्धि कमाएका एन्टेनीमाथि लागेको बलात्कारको आरोप पुष्टि भएन । उनी निर्दोष साबित भएका थिए । सन् २००९ मा उनले क्रिकेटबाट संन्यास लिएका हुन् ।

रायन हिन्ड्स

सन् २००९ मा वेस्ट इन्डिजका क्रिकेटर रायन हिन्ड्सलाई २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको थियो । उनीविरुद्ध मुद्दा पनि पर्‍यो । बार्बाडोसको एक अदालतले उनलाई धरौटीमा छाड्यो । लामो समय चलेको मुद्दामा पीडितले कुनै प्रमाण दिन नसकेपछि सन् २०१४ मा हिन्ड्सले सफाइ पाए ।

लुक पोमर्सबाक

लुक अस्ट्रेलियाली क्रिकेटर हुन् । सन् २०१२ मे मा न्यु दिल्लीको एक होटलमा आफ्नै केटी साथीलाई आक्रमण गरेको र एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परे । पछि अदालतबाहिर नै मिलापत्र भएपछि लुक रिहा भए । आरोप लगाउने महिलासँग उनको बिहे गर्ने तय भइसकेको थियो । त्यसैले, सँगै भारत भ्रमणमा उनी पनि आएकी थिइन् ।

रुबेल हुसेन

सन् २०१५ जनवरी ८ मा बंगलादेशी क्रिकेटर हुसेनलाई विवाह गर्छु भनेर झुक्याएर पूर्वप्रेमिकासँग सम्बन्ध राखेको आरोप लागेको थियो । बंगलादेशको कानुनमा यसलाई पनि बलात्कार मानिन्छ । आरोप लगाउनेले यथेष्ट प्रमाण दिन नसकेपछि सन् २०१५ को अगस्टमा अदालतले हुसेनलाई सफाइ दियो ।

इयान किङ

किङ अस्ट्रेलियाली प्रथम श्रेणीका क्रिकेटर हुन् । आदिवासी समुदायबाट क्रिकेट खेल्ने निकै कम मध्येका उनी एक थिए । क्विन्सल्यान्ड प्रान्तका क्रिकेटर इयान किङ बाल यौन दुराचारको घटनामा दोषी ठहर भए । सन् २०१३ मा अदालतले  २० जना बालकमाथि यौन दुराचार गरेको घटनामा उनलाई दोषी ठहर गरेको थियो । उनलाई १२ वर्षको जेल सजाय सुनाइयो ।

सन् २००८ मा पीडितबाट उजुरी आएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । सन् १९९८ मा क्यानबेरामा जुनियर क्रिकेटरलाई प्रशिक्षण दिने क्रममा उनले दुराचार गरेको पाइएको थियो । जेलमा एकजना कैदीले उनीमाथि आक्रमण गरेर आँखा फुटाइदिएको समाचार पनि आएको थियो ।

उदय जोशी

भारतको रणजी ट्रफीका अफ स्पिनर उदय जोशीलाई सन् २०१२ मार्चमा  १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्यो । आरोप लाग्दा जोशी ६८ वर्षका थिए । ३० वर्षअघिको घटनालाई लिएर पीडितले अदालतमा मुद्दा हालेका थिए । दोषी ठहर भएपछि जोशीलाई ६ वर्षको जेल सजाय सुनाइएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!