राजा महेन्द्र र बेलायती रानीको ६२ वर्षअघिको दुर्लभ भिडियो, हात्ती चढेर यसरी ढाले बाघ [भिडियो]

Posted on: 09 Sep, 2022

भदौ २४, काठमाडौँ | करीब ६२ वर्षअघिको नेपाल र काठमाडौंको जनजीवन कस्तो थियो होला ? धेरैलाई कौतुहलता हुन्छ । आधा शताब्दीभन्दा अगाडिको नेपाल र यहाँको जीवनशैली धेरैका लागि रुचिकर हुनसक्छ ।

बेलायती महारानी एलिजाबेथ द्वितीया सन् १९६१ मा नेपाल आउँदाको भिडियोले त्यो बेलाको नेपालको अवस्था बुझ्न सकिन्छ । उनै महारानी एलिजाबेथ द्वितीयाको बिहीबार निधन भएको छ । 

रानी एजिलाबेथ काठमाडौं आउँदा तत्कालीन राजा महेन्द्र उनको स्वागतका लागि विमानस्थलमा पुगेका थिए ।


विमानस्थलबाट राजा महेन्द्र र बेलायती महारानी एउटै बग्गीमा चढेर दरबार गएको दृष्य देखिन्छ । रानी रत्न र बेलायती प्रिन्स फिलिप अर्को बग्गीमा बसे ।

बेलायती समाचार संस्थाले बनाएको भिडियोमा त्यो बेला काठमाडौंको जनसंख्या एक लाख भएको भनिएको छ । 

वसन्तपुरमा मानिसहरू भेला भएका देखिन्छन् । किसानहरूले खर्पनमा तरकारी बोकेर हिँडेका छन् । एक जनाले खर्पनमा राखेर आफ्नो बच्चालाई बोकेका छन् ।

त्यो बेलाका मानिसहरूले दौरा सुरुवाल लगाएर कपडाको बर्को ओडेको देखिन्छ । बेलायती रानीको स्वागतका लागि विमानस्थलमा अस्थायी स्वागतद्वार बनाइएको छ । विमानस्थलले अहिलेको स्वरूप धारण गरेको थिएन ।

महारानीको स्वागतका लागि काठमाडौंका सर्वसाधारण विमानस्थलमा पुगेका थिए । स्वागतका लागि उपस्थित भएका कतिपय सर्वसाधारण खाली खुट्टा देखिन्छन् भने अधिकांश पुरुष सेतो टोपी लगाएका देखिन्छन् ।

एक जनाले खर्पनमा गाग्री बोकेर उपस्थितलाई करुवाबाट पानी खुवाएका थिए । अधिकांशले निधारमा टीका लगाएका छन् ।

बेलायती रानीको स्वागतमा पनि त्यति धेरै सुरक्षाकर्मी परिचालन गरेको देखिँदैन । हिउँदको मौसमको त्यो दिन काठमाडौंको आकाशमा धुम्म बादल लागेको देखिन्छ ।

सन् १९६१ को फ्रेबुअरी २६ देखि मार्च १ सम्म भ्रमण भएको थियो । आँखीझ्यालसहितको अस्थायी स्वागतद्वारमा सल्लाको पात (सल्लीपिरल) राखेको देखिन्छ । जब बेलायती रानी चढेको विमान आयो, राजा महेन्द्र उनको स्वागतका लागि अगाडि बढेका थिए । 

रोचक कुरा, त्यो बेला राजा महेन्द्र र रानी रत्नले हातमा पञ्जा लगाएको देखिन्छ । जाडो महिना भएकाले रानी एलिजाबेथले हातमा एउटा स्वेटर राखेकी रहिछन् ।

रानी एलिजाबेथलाई रिसल्लासहित घोडाको बग्गीमा चढाएर नारायणहिटी दरबारतिर लगिँदै गरेको देखिन्छ । राजारानीको सवारीका लागि उपस्थित भएका सर्वसाधारणले ताली बजाएर स्वागत गरेका छन् । 

विमानस्थलबाट बाहिर निस्किँदै गर्दा एलिजाबेथले सर्वसाधारण जनतालाई हात हल्लाएर अभिनन्दन गरेकी छिन् ।

महारानी एलिजाबेथ चितवन राष्ट्रिय निकुञ्जमा गएर बाघको शिकार गरेको देखिन्छ । बाघको शिकारका लागि ३ सय २७ हात्तीको प्रयोग गरेको देखिन्छ । उनी हात्ती चढेर शिकारका लागि गएकी थिइन् ।

बेलायती रानीको चितवन भ्रमणलाई लक्षित गरेरै चितवनको मेघौलीमा विमानस्थल निर्माण गरिएको थियो । सो विमानस्थल अहिले भने बन्द छ ।

चितवन राष्ट्रिय निकुञ्जभित्र कम्मरमा पेस्तोल बोकेका राजा महेन्द्रले गोली हानेर मारिएको बाघको नजिकबाट निरीक्षण गरेको भिडियोमा देखिन्छ ।

त्यो बेला मारिएको बाघ ८ फिटको थियो । राजा महाराजाहरूलाई निकुञ्जमा शिकार खेल्न छूट थियो ।

रानी एलिजाबेथ पोखराको भ्रमणमा पनि गएकी थिइन्, त्यहाँ उनलाई ब्रिटिस गोर्खा सैनिकले स्वागत गरेका थिए । पोखरामा बालिकाहरूले बेलायतको झण्डा हल्लाउँदै रानीको स्वागत गरे ।

नाकमा बुलाकी र घाँटीमा मडरी लगाएका महिलाहरू उनको स्वागतका लागि आएका थिए । महारानीले बेलायती पूर्व सैनिकहरूले लगाएका तक्मा बडो उत्सुकतापूवर्क हेरेकी थिइन् ।

रानी एलिजाबेथले सन् १९८६ को फ्रेबुअरीमा दोस्रो भ्रमण गरेकी थिइन् । दोस्रोपटक भ्रमण गर्दा नेपालमा राजा वीरेन्द्र थिए । 

बेलायती रानीको स्वागतका लागि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यालगायत विमानस्थल गएका थिए ।

 -लोकान्तरबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!