रानीको जस्तै लुगा लगाएर मजाक उडाएको भन्दै थाइल्याण्डकी अभियन्तालाई दुई वर्ष जेल

Posted on: 13 Sep, 2022

भदौ २८, काठमाडौँ | सडक प्रदर्शनका क्रममा रानीको मजाक उडाएको भन्दै थाइल्याण्डको अदालतले एक अभियन्तालाई जेल सजायको फैसला सुनाएको छ।

रानीको जस्तै पहिरनमा प्रदर्शनमा उत्रिएर मजाक उडाएको भन्दै २५ वर्षीया अभियन्ता सी याङलाई सोमबार दुई वर्ष कैदको फैसला सुनाइएको समाचार संस्था रोयटर्सले जनाएको छ। सन् २०२० को प्रदर्शनमा नियतवश नै याङले रानीको मजाक उडाएको पुष्टि भएको अदालतको फैसलामा भनिएको छ।


शाही परिवारका सदस्यको मजाक उडाएको पुष्टि भए थाइल्याण्डमा १५ वर्षसम्म जेल सजाय हुनसक्ने कानुन छ। थाइल्याण्डमा दुई वर्षयता २ सय १० जना राजनीतिक अधिकारकर्मीहरू शाही परिवारको मजाक उडाएको कसुरमा जेल चलान भएका छन्।

दुई वर्षअघिको सडक प्रदर्शनका याङ गुलाबी सिल्क पहिरनमा सजिएकी थिइन्। उनलाई एक पुरूषले  छाता ओढाएका  थिए। उनी रेड कार्पेटमा हिँड्दा अरू प्रदर्शनकारी उनको दर्शनका लागि भुइँमा बसेको देखिन्थ्यो।  

सामान्यत: थाइल्याण्डकी रानी त्यस्तो पहिरनमा बाहिर जाने र उनको सम्मानमा अरू भुइँमा बस्ने भएकाले यो दृश्यले नियतवश नै रानीको मजाक उडाएको अदालतको ठहर छ।

याङले भने आफू थाइल्याण्डको सांस्कृतिक पहिरनमा सजिएको र रानीको मजाक उडाउने आफ्नो नियत नभएको उनले बयान दिएकी थिइन्।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!