एकै परिवारका छ जनाको जलेर मृत्यु, सडक दुर्घटनमा अन्य छ जना मारिए

Posted on: 30 Nov, 2022

मङ्सिर १४, फिरोजावाद (उत्तरप्रदेश) |  विद्युत् प्रवाहमा गडबडी उत्पन्न भइ फिरोजावादको एक आवासीय भवनमा आगालागी हुँदा एकै परिवारका छ जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

मङ्गलबार राति लागेको आगोमा परेर तीन जना बालबालिकाको पनि ज्यान गएको फिरोजावादका प्रहरी उपरीक्षक आशिष तिवारीले बताए । आग्रा, इत्हा, मनिपुरीलगायत १८ वटा अग्निसमन केन्द्रका जवान र फिरोजावादसहित १२ वटा प्रहरी कार्यालयका सुरक्षाकर्मीको सयोगमा राति अबेर आगो निभाइएको उनले बताए । 


आगलागीको उक्त घटनालाई गम्भीररूपमा लिँदै मुख्यमन्त्री आदित्यनाथसहितको उच्च अधिकारीको टोली राति नै  घटनास्थलमा पुगेर वस्तुस्थिति बुझ्नका साथै त्यसले सम्बद्ध निकाय तथा पदाधिकारीलाई तत्काल राहतका  कार्य थाल्न निर्देशन दिएको थियो । 

मुख्यमन्त्री कार्यालयले दिवङ्गतहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । मुख्यमन्त्रीले घाइतेलाई तत्काल अस्पताल लैजान र उचित उपचार गर्न जिल्ला प्रशासनका पदाधिकारीलाई निर्देशन दिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उनले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई तत्काल रु दुई लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । 

यसैबीच, राज्यको बहराइच जिल्लामा आज बिहान सखारै भएको सडक दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । जिल्लाको टप्पे सिपाह क्षेत्रमा रोडवेजको बस र ट्रक एक आपसमा ठोक्किदा उक्त हताहती भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । प्रहरीका अनुसार घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजक छ । उनीहरू सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!