जापान र दक्षिण कोरियाको बीचमा पानीजहाज डुब्यो

Posted on: 25 Jan, 2023

माघ ११, काठमाडौँ । जापान र दक्षिण कोरियाको बिच समुद्रमा सामान बोक्ने कार्गो पानीजहाज डुब्दा चालक दलका ९ जना बेपत्ता भएका छन्।

जापानको नागासाकीको तटमा ६ हजार ५ सय ५१ टन वजनको “जिन्टियन” डुबेपछि चालक दलका १३ सदस्यलाई बुधवार उद्धार गरिएको जापानी र दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।


चालक दलका पाँच जनालाई नजिकैका जहाजहरूले उठाएका थिए भने, आठ जनालाई पछि जापानी र दक्षिण कोरियाली तट रक्षकहरूले उद्धार गरेका थिए।

जापानी अधिकारीहरूले हङकङमा दर्ता भएको जहाजमा चालक दलका १४ सदस्य चिनियाँ र ८ जना म्यानमारका रहेको बताएका छन्।

क्योडो समाचार एजेन्सीले जिन्टियनका चालक दलले मङ्गलवार अबेरमा एक आपत्कालीन फोन गरेको र जहाज झुकेर पानी पसेको रिपोर्ट गरेको जनाएको छ। फोन गरेको करिब चार घण्टापछि जहाज तल गएको एजेन्सीले जनाएको छ।

दक्षिण कोरियाली कोस्ट गार्ड घटनास्थलमा पुग्दा जहाज पूर्ण रूपमा डुबेको योनहाप समाचार एजेन्सीले जनाएको छ।

काठ बोकेको जिन्टियान के कारणले पल्टियो भन्ने बारे तत्काल केही बताइएको छैन।

जहाज डुबेको क्षेत्र नागासाकी र दक्षिण कोरियाको जेजु टापुको बिचमा छ, जहाँ मङ्गलवार खराब मौसमका कारण सयौँ उडान रद्द गरिएको थियो।

जापानको कोस्ट गार्डले सङ्कटको सङ्केत प्राप्त भएको बेला हावा तीव्र भएको बताए। तुरुन्तै गस्ती डुङ्गा र विमानहरू यस क्षेत्रमा पठाएको तर, खराब मौसमले तिनीहरूको पुग्न ढिला भएको जापानको कोस्ट गार्डले बताएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!