आजदेखि काभ्रेका थप पाँच स्थानीय तह ‘शिल’

Posted on: 22 May, 2021

जेठ ८, काभ्रे | पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि सङ्क्रमणको उच्च जोखिम रहेको जनाउँदै काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तहले आजदेखि आफ्नो क्षेत्र ‘शिल’ गरेका छन् । धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले आजदेखि स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाएका हुन् ।

जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना सङ्क्रमणदर उच्च सङ्ख्यामा रहेको जनाउँदै बनेपा नगरले आइतबारदेखि नै एक हप्ताका लागि आफ्नो क्षेत्र शिल गरेको थियो । उसले मर्निङवाकसमेत गर्न दिएको छैन । “अन्य स्थानीय तहभन्दा बनेपामा सङ्क्रमण उच्च रहेपछि औषधि पसल र अस्पतालबाहेकका सबै सेवा बन्द गर्नुका साथै मर्निङवाकसमेत प्रतिबन्ध लगाउनुपर्यो”, बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह वादेले भन्नुभयो । बनेपा जिल्लाको प्रमुख शहर हो । 

पाँचखाल नगरले बन्दमा मदिराजन्य पसल सञ्चालन गरे छ महिना अनुमति खारेज गरी रु ५० हजार जरिवानासमेत गर्ने जनाउँदै आजदेखि एक साता नगर शिल गरिएको घोषणा गरेको छ । धुलिखेल र पनौती नगरले अत्यावश्यक सेवा र औषधि पसलबाहेकको सबै सेवा आज राति १२ बजेदेखि चार दिनका लागि बन्द गरेको जनाएका छन् । रोशी गाउँपालिकाले पनि अत्यावश्यक सेवाबाहेक गए राति १२ बजेदेखि आगामी बुधबार राति १२ बजेसम्म पाँच दिन शिल गरेको छ भने भुम्लु गाउँपालिकाले आजदेखि एक साताका लागि शिल गरेको जनाएको छ । 

साथै शिल गरिएका स्थानीय तहले फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउनेसमेत निर्देशन दिएका छन् । सूचना विभागबाट जारी प्रेस पासवहाक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले गत आइतबारदेखि जिल्लामा एक साता निषेधाज्ञा थप गरेको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् । 

यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा १९७ मा कोरोना सङ्क्रमण पुष्टि भयो । अघिल्लो दिन ५९२ तथा बिहीबार २८२ मा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले जनाएको छ । साथै दैनिक ५० को हाराहारीमा कोरोना सङ्क्रमणमुक्त हुने गरेका छन् भने सरदर चारको मृत्यु हुने गरेको केन्द्रको तथ्याङ्कले देखाएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार ४६९ सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी बनेपा नगरमा २८ दशमलव ४७ प्रतिशत अर्थात् ७०३ सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये धुलिखेलमा ५४७, पनौतीमा ४९६, पाँचखालमा १६२, नमोबुद्धमा ११०, मण्डनदेउपुरमा १४२ तथा रोशी गाउँपालिकामा ६३, चौँरीदेउरालीमा २९, तेमालमा २८, भुम्लु ६७, खानीखोलामा ३९, बेथानचोकमा ४१ र महाभारत गाउँपालिकामा ४२ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनाएको छ । कूल सङ्क्रमितमध्ये ९५ प्रतिशत अर्थात् दुई हजार ३५० सङ्क्रमित होमआइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका ९९ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

चौँरीदेउराली गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

बनेपा — जिल्लाको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिकालाई कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । सो गाउँपालिकाको वडा नं ७ मादनकुँडारी निवासी समाजसेवी कुलबहादुर लामा र एलबी लामाको सक्रियतामा उक्त सामग्री उपलब्ध गराइएको हो ।

गाउँपालिका कार्यालयमा नै पुगेर शुक्रबार पालिका अध्यक्ष दिननाथ गौतमलाई पाँच/पाँच लिटरका तीन थान अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण गरियो । अक्सिजन अभावका कारण सङ्क्रमितको मृत्युसम्म हुनसक्ने अवस्था गाउँपालिकामा सिर्जना नहोस् भन्ने उद्देश्यले उक्त सामग्री सहयोग गरेको समाजसेवी कुलबहादुरले बताउनुभयो । 

गाउँपालिका अध्यक्ष गौतमले विषम परिस्थितिमा प्राप्त स्वास्थ्य सामग्रीले गाउँपालिकाले गर्दै आएको कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा थप सहयोग पुग्ने बताउनुभयो । उक्त सामग्री धुसेनी शिवालय प्राथमिक अस्पतालमा प्रयोग गरिनेछ । 

गाउँपालिकाले सङ्क्रमित व्यक्तिको उपचारका लागि तीन ठाउँमा गरी १८ शय्याको अक्सिजन सिलिण्डरसहितको आइसोलेसन केन्द्र व्यवस्थापन गरिसकेको छ । गाउँपालिका अध्यक्ष गौतमका अनुसार गाउँपालिकाले वडा नं ५ को धुसेनी शिवालय प्राथमिक अस्पतालमा १० शय्या, वडा नं २ मा रहेको डिसीडब्लुसी अस्पतालमा पाँच शय्या र वडा नं ३ को सलम्बुमा रहेको धुलिखेल अस्पतालको आउटरिच केन्द्रमा तीन शय्याको आइसोलेशन कक्ष व्यवस्थापन गरेको हो ।

त्यससँगै गाउँपालिकासँगको समन्वयमा पालिकाभित्रमा कोभिड–१९ विरुद्धमा सचेतना फैलाउन स्वायंमसेवी समूह नै गठन गरेर काम गरिरहेको छ । सो समूहले गाउँपालिकाको प्रत्यक्ष मातहतमा रही स्थानीय युवाहरुको सक्रियतामा सचेतनाका विभिन्न गतिविधि सञ्चालन गर्नुको साथै कोभिड–१९ सङ्क्रमण रोकथाम, उपचार अभियानलाई सहयोग गर्दै आइरहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!