टुटा किराका कारण किसान हैरान

Posted on: 22 Feb, 2018

फागुन १०, ललितपुर | तरकारीमा लाग्ने टुटा किरा (पात खाने) किराका कारण किसान हैरान छन् । 


किराका कारण पात बिग्रिएर जाने कृषि विभागअन्तर्गतको प्लान्ट क्वारेन्टाइन कार्यक्रममा कार्यरत वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलले बताउनुभयो । 

पहिले भुसुनाजस्तो हुने यो किराले पछि लार्भाजस्तो स्वरुप बनाउँछ । किराले असर गरेको पातबाट थाहा हुने भए पनि किसानले थाहा पाउँदासम्म बालीमा नोक्सान गर्छ । यो किराले आक्रमण गर्दा ७० प्रतिशतसम्म उत्पादन नोक्सान गर्ने खरेलको भनाइ छ । 

उहाँ भन्नुहुन्छ, “पहिले यो रोग एक दुईथरी तरकारीमा लागे पनि अहिले धेरैमा फैलिएको छ ।” 

चार वर्ष पहिले भित्रिएको यो रोग अहिले करिब ३५ जिल्लामा फैलिसकेको खरेल बताउनुहुन्छ । पहिले दक्षिण अफ्रिकामा देखिएको यो समस्या अफ्रिकाबाट भारत हुँदै नेपाल भित्रिएको हो । गोलभेँडा वा त्यही प्रजातिका तरकारीबाट यो रोग नेपाल भित्रिएको उहाँ बताउनुहुन्छ । 

रोग भएका बाली वा बिरुवा नभित्र्याउन १६ वटा नाकामा जाँच गर्ने कार्यालय छन् । बीउबाट मात्रै नभएर फल नै ल्याउँदासमेत रोग सर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “रोग भएको तरकारी पखालेर हामी जमिनमा फाल्छौँ, यही माटोबाट समेत बोटबिरुवामा रोग सर्छ ।” रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!