मध्यनेपालमा अत्यावश्यक बाहेकका सेवा बन्द

Posted on: 20 Jan, 2022

माघ ६, लमजुङ | लमजुङको मध्यनेपाल नगरपालिकाले बिहीबारदेखि एक हप्तासम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । 

कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको र कार्यालयका एक कर्मचारीमा पनि सङ्क्रमण पुष्टि भएको तथा बाँकी कर्मचारीको पिसीआर परीक्षणको नतिजा नआउञ्जेल यही माघ १२ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सबै कर्मचारीको पिसीआर परीक्षणको नतिजा नआउञ्जे कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरपालिका कार्यालयसहित नगरको सबै वडा बन्द हुनेछ । स्वास्थ्य र सरसफाइलगायतका सेवा भने निरन्तर चलिरहन्छ ।” 

 यसरी सेवा बन्द गर्दा सेवाग्राहीको भीड नहुने र सङ्क्रमण फैलिन नपाउने भएकाले सेवा बन्द गर्नुपर्ने बाध्यता आइपरेको उहाँको भनाइ छ । जिल्लामा हालसम्म १३० जना कोरोना भाइरस सङ्क्रमित छन् । तेस्रो लहर सुरु भएयता गत मङ्गलबार जिल्लाका मस्र्याङ्दी गाउँपालिका–६ का ८७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!